धरान/ धरान–९ नम्बर वडा कार्यालयले ज्येष्ठ नागरिकहरूलाई लक्षित गर्दै नियमित स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरेको छ ।

वडाका ज्येष्ठ सदस्यहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम थालिएको हो । उनीहरूको उच्च रक्तचाप, मधुमेह, क्रिटीनाइन, ज्वरो, उचाइ, तौललगायतको परीक्षणलाई निरन्तरता दिइएको वडाध्यक्ष रत्न कटवालले जानकारी दिए । साताको ६ दिनसम्म बिहान ७ बजेदेखि ८ बजेसम्म स्वास्थ्य परीक्षण गरिने भएको छ ।

परीक्षणबाट आएको प्रतिवेदनको आधारमा परामर्श सेवा पनि प्रदान गरिने उनले बताए । वडामा ६० वर्षमाथिका ज्येष्ठ नागरिक ३ सय २२ जना रहेका छन् । वडा सचिव रञ्जु भुजेलका अनुसार ६० जना दलित, ६२ जना एकल महिला एकसय ४५ जना र ७० वर्षभन्दा माथि एकसय १७ जना रहेका छन् ।

वडाले ज्येष्ठ नागरिकहरूलाई बजेट विनियोजन गरेरै स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिरहेको हो । स्वास्थ्य परीक्षणमा वडाका ५० वर्षभन्दा माथिका नागरिकहरूले सेवा लिन सक्ने वडा सदस्य मनोजकुमार राउतले जानकारी दिए ।

उनका अनुसार दलित, अपाङ्ग, अनाथ तथा असक्तहरूलाई यस कार्यक्रममा छुट दिइनेछ । वडावासीको सुविधाको लागि कार्यक्रम शुरु गरिएको हो । वडाले प्रमुख टोल तथा चोकमा सीसी क्यामेरा पनि जडान गरेर सुरक्षा प्रबन्ध मिलाएको छ ।