धरान/ केही मान्छे यस्ता हुन्छन्, जसले आफ्ना लागिभन्दा अरूका लागि समय दिन्छन् । के त्यस्ता मान्छे पनि होलान् ? अवश्य नै ! त्यहीमध्येका स्विजरल्याण्डका भान्साका विज्ञ फ्रान्क जेट्टेल पनि एक हुन् ।

जो ४८ वर्षसम्म विभिन्न देशमा आफ्नो अनुभव बटुले । सामान्य होटल हुँदै ५ स्टार होटलसम्म काम गरे । अध्ययनको दायरा पनि बढाए । अहिले विज्ञका रूपमा विभिन्न देशमा उनी पुग्ने गरेका छन् । होटल मेनेजमेन्टमै स्नातकोत्तर उपाधि प्राप्त गरेका उनी आफूलाई अहिले पनि सेफको रूपमा मात्रै चिनाउँछन् । तर, उनी सेफमै विज्ञ छन् । उनको पहिलो प्राथमिकता काम हुन्छ । सायद, अन्य विदेशीको झै । स्वीसकन्ट्याक्टमार्फत् दोस्रो पटक नेपाल आइपुगेका उनी धरानको धरान इन्टरनेशनल कलेजमा आइपुगेका थिए । होटल मेनेजमेन्ट अध्यापन हुने कलेजमा उनले एक महिना लामो अनुभव सेयर गरे ।

उनी भन्छन्, ‘म धरान पहिलो पटक आइपुगेको हुँ, नेपाल दोस्रो पटक, स्वीसकन्ट्याक्टमार्फत् यहाँ आएको छु । मेरो काम यहाँ पढ्दै गरेका युवाहरूलाई केही सिकाउनु हो ।’ उनले आफू ५ स्टारको होटलसम्मका सेफ बनिसकेकाले पनि आफ्नो अनुभव सेयर गर्दै हिँडिरहेको बताए । ‘यो क्षेत्रमै मेरो ४८ वर्ष बित्यो’ उनले आफ्नो अनुभव सेयर गर्दै भने । स्वीसकन्ट्याक्ट यस्तो संस्था हो, जसले गरिब तथा विपन्न देशहरूलाई स्वयम्सेवकको रूपमा काम गरिदिनका लागि आफ्ना विज्ञहरू पठाउने गर्दछ ।

पहिलो पटक उनी नेपाल आउँदा काठमाडौंको ठमेल र पोखरामा त्यो अनुभव सेयर गरेका थिए । दोस्रो पटक धरानमा आएर सेयर गर्न पाउँदा एकदमै खुशी रहेको बताए । ‘युवाहरूलाई सिकाउन पाउँदा आफूलाई पनि युवा नै भएको सम्झन्छु, छैन त म ?’ उनले हाँस्दै भने । उनले नेपालमा होटल मेनेजमेन्ट भर्खरै शुरुवात हुँदै गरेको अनुभव रहेको बताए । तर, चाँडै देशले प्रगति गर्नेमा उनी ढुक्क थिए । उनले झण्डै १०(१२ वटा देशमा आफ्नो ज्ञान बाँडिसकेको बताए । ‘तर, नेपाल त्यसमा पनि धरान एकदमै गर्मी रहेछ, गर्मी सिजनमा त म बस्न नसक्ने रहेछु’ उनले भने । उनले चार सातामा विभिन्न परिकारका खानपानबारे, रहनसहनबारे र हस्पिटालिटीबारे जानकारी गराएका थिए ।

कलेजका प्रमुख कार्यकारी अधिकृत लोकेन्द्र श्रेष्ठ भन्छन्, ‘स्वीजरल्याण्ड सरकार र धरान इन्टरनेशनल कलेजबीच भएको सम्झौता अनुसार उनलाई पठाइएको हो ।’ उनका अनुसार कलेजले होटल मेनेजमेन्टका विद्यार्थीहरूलाई विदेशमा कस्तो हुन्छ, त्यहाँको अनुभवसहितको अवस्थाको बारेमा खानपानको कौशल, आचरण, बानीबेहोरा र सुरक्षित साथै गुणस्तरीय खानपान कसरी बनाउने भन्ने विषयमा जानकारी गराएको बताए । उनले आफ्ना विद्यार्थीहरूलाई पाँच तारे होटलमा खानाका परिकारहरू कसरी बन्छन्, र त्यहाँको रहनसहनका बारेमा जानकारी गराएको बताए ।

drn drn1