राजविराज/ राजविराज नगरपालिकाले वडा नं. ७ निर्माण गर्न लागेको सामुदायिक भवनको काम गुणस्तरहीन भएको पाइएको छ ।
तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत नगरपालिकाले निर्माण गराएको उक्त भवनमा सम्झौता बमोजिमको काम नभई गुणस्तरहीन सामग्री प्रयोग भएको स्थानीयको गुनासो छ ।
भवन निर्माणमा १ नम्बर इटा प्रयोग गर्नुपर्ने भए पनि निर्माण कम्पनीले दास्रो र तेस्रो नम्बरको कमसल इटा प्रयोग गरिरहेको स्थानीय अनिलकुमार पेडिवालले बताए । उनले निर्माण कार्यको जानकारी दिने सूचना बोर्ड समेत नलगाइएको बताउँदै कामका बारेमा आशङ्का गर्ने अवस्था रहेको समेत प्रष्ट पारे ।
१ करोड १६ लाख ८८ हजारको स्टिमेट रहेको उक्त २७ कोठे भवन निर्माणका लागि धर्मराज निर्माण सेवा तिलाठी कोइलाडी १ का नाममा ठेक्का सदर भएको राजविराज नगरपालिकाका सूचना अधिकारी मनोजकुमार यादवले बताए ।
निर्माण कम्पनीले उक्त ठेक्का ६४ लाख ७७ हजारमा स्विकार गरेको हो । कामको गुणस्तरका बारेमा नगरपालिकाले प्राविधिक सहित अनुगमन गरी निर्माण सम्बन्धी जानकारीका लागि बोर्ड राख्न लगाउने यादवले बताए ।