बिर्तामोड/ इलाका प्रहरी कार्यालय बिर्तामोडले ४ हजार लिटर घरेलु मदिरा जफत गरी नष्ट गरेको छ । बिर्तामोड नगरपालिका वडानम्बर ३, ५ र ६ का विभिन्न स्थानबाट बरामद गरेको घरेलु मदिरा प्रहरीले नष्ट गरेको हो ।

बिर्तामोडमा ठूलो परिमाणमा घरेलु मदिरा उत्पादन र बिक्री वितरण हुँदै आएको सूचनाका आधारमा छापा मारेको बताउँदै अहिलेसम्मकै धेरै मदिरा बरामद गरेर नष्ट गरेको प्रहरीले दाबी गरेको छ । खासगरी अखाद्यवस्तु प्रयोग गरेर बनाइने घरेलु मदिराले मानव स्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले यसको नियन्त्रणमा लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

युरिया, महिलाले प्रयोग गरेको प्याड, जुत्ता, मोजा र कुहिएको अखाद्यवस्तुको प्रयोग गरेर घरेलु मदिरा उत्पादन गरिएको पाइएको प्रहरीले जनाएको छ । झापा जिल्लामा मदिरा नियन्त्रणका लागि अभियान शुरु गरेको प्रहरीले यसको उत्पादन र बिक्री वितरणमा कडाइ गरिने जनाएको छ ।

मदिरा नियन्त्रण नहुँदा हत्या, हिंसा, झै–झगडा, सवारी दुर्घटना शारीरिक तथा मानसिक असर, बालबालिकाको मानसिकतामा असर तथा देशलाई राजश्वमा घाटा हुने बताइएको छ । मदिरा ऐन २०३१ अनुसार ‘कुनै व्यक्तिले अनुमति बेगर वा अनुमति पाएको व्यक्तिले पनि तोकिएको शर्तबमोजिम बाहेक मदिरा उत्पादन गर्न पाइने छैन’ भन्ने उल्लेख छ । यसैगरी प्लाष्टिकको पोकामा मदिराको उत्पादन र बिक्री गर्न नपाउने, १८ वर्ष उमेर पूरा नगरेका व्यक्तिले र त्यो उमेरका व्यक्तिलाई मदिरा बिक्री गर्न नपाउने बताइएको छ ।

प्रचलित कानून विपरीत मदिरा उत्पादन गर्ने व्यक्तिलाई ६ महिनासम्म कैद वा १ लाख रुपैयाँ वा दुवै सजाय हुने प्रावधान छ । यसरी मदिरा उत्पादन गर्न सहयोग गर्ने व्यक्तिलाई ३ महिनासम्म कैद वा ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुने बताइएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहन थापाले आइतबार एक दिनमा छापा मारेर ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरेको जनाए । उनले घरेलु मदिरा उत्पादनलाई निरुत्साहित गर्न निरन्तर नियन्त्रण अभियान जारी राख्ने जानकारी दिए । प्रहरीले मदिरा बरामद गरेको भए पनि उत्पादन र बिक्री वितरणमा संलग्न कसैलाई पक्राउ भने नगरेको जनाएको छ ।