सोलुखुम्बुको जुबुमा ०३१ साल फागुन १९ मा जन्मेका कृष्णबहादुर गिरी नै अहिलेका बलात्कार अभियोग लागेका कृष्णदास हुन् । उनी केही समय अघिसम्म आफूलाई वैष्णव कृष्णदास महाराज भने पनि चिनाउँदै आएका थिए । उनले आफ्नो नामको अगाडि विद्यावारिधि गरेको भनी डा. पनि लेख्ने गरेका थिए ।
सुनसरी–मोरङ सिंचाइ आयोगको वराहक्षेत्र चतरास्थित चतरा नहरको पश्चिम किनारको १३ बिगाहा जग्गा कब्जा गरेर रातारात ८ करोड लागतको १ सय २८ कोठे भवन निर्माण गरेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गराउन सफल भएपछि उनले आफूलाई साँच्चैको ‘सिद्धबाबा’ प्रमाणित गरे ।
छविलाल गिरीका दुई पत्नीमध्ये कान्छी श्रीमतीबाट कृष्ण जन्मेका हुन् । उनैका सहोदर भाइ ऐनकुमार गिरी छन् भने जेठीपट्टिका कृपाध्वोज गिरी छन् । दुई चेलीहरू पनि छन् । गिरीका ९४ वर्षीय पिता कहिले मोरङको विराटचोकस्थित कान्छा छोरा ऐनकुमारकोमा त कहिले इटहरीको तरहरास्थित बहिनी विष्णुमायाको घरमा बस्ने गरेका छन् ।
कृष्णको बाल्यकालदेखि किशोर वय सोलुकै जुबुमै बित्यो । त्यहीको स्थानीय विद्यालयमा कक्षा सात अध्ययन गर्दागर्दै फेल भएपछि उनी वैरागी भएर स्कुल नै जान छाडे । ०४९ सालतिर घर छाडेर हिँडेको ६ वर्षपछि उनी सन्तको भेषमा घर आएका थिए । घर आउनुअघि उनले ६ पेज लामो पत्रसमेत लेखेर पठाएका थिए ।
वराहक्षेत्रस्थित बालसन्त देवाचार्यको सम्पर्कमा आएपछि उनी त्यही आश्रममा बस्न थाले । उनलाई बालसन्तले साधु बनेका गिरीलाई धर्म, कर्मकाण्ड, वेद, उपनिषद् अध्ययन गरेर सार्वजनिक पुराण वाचन कार्यक्रममा सहभागी हुन प्रेरित गरे । बालसन्तले नै गिरीलाई सिकाउँदै पहुचवालाहरूसँग परिचय गराए । चतुर स्वभावका गिरीले आफू नेपाल नआएको समयमा भारतमा उच्चशिक्षा अध्ययन गरेको दाबी गर्दैै जगद्गुरु भएको सम्म भन्न थाले ।
आफूले भारतका विश्वविद्यालयमा वेदाचार्य गरेको, आयुर्वेदमा आचार्य गरेको, जर्मनको विश्व विद्यालयमा स्नातकोत्तर गरेकोदेखि ०६५ सालदेखि त विद्यावारिधि नै गरेको दाबी गर्न थाले । उनले विस्तारै आफ्नो पहुँच बढाउँदै गर्दा सुनसरी–मोरङ सिंचाइ आयोजनाको जग्गा कब्जा गरे । उक्त जग्गामा हजारौं गाईपालन गर्ने, जडिबुटी र आयुर्वेदको विश्वविद्यालय सञ्चालन गर्ने भनेर सपना बाँडे । उनले आफ्नो अनुयायी बढाउँदै लगे ।
भारतीय हिन्दु धर्मावलम्बीका गुरुहरूसँग नियमित सम्पर्कमा रहेर कहिले निःशुल्क स्वास्थ्य शिविर त कहिले तारक ब्रम्ह यज्ञ गरे । यसअघि उनले पोखरा र चतरामा भूमिगत समाधि बसे । तर उनका ती भूमिगत समाधिहरू सबै एउटा कमसल नाटक साबित भइसकेको छ । विज्ञानलाई चुनौति दिएर भूमिगत समाधि बस्ने नाटक सफल बनाउनका लागि उनका तीनजना नजिकका अनुयायीहरूले विशेष मेहनत गरेका थिए । जो हाल गिरीलाई साथ दिन छाडेर आफ्नै पारिवारिक संसारमा रमाइरहेका छन् । भूमिगत समाधि बस्ने भने पनि गिरीलाई खाना र पानी, दिसा–पिसाब गर्नका लागि व्यवस्था ती तीनजनाले गर्ने गरेका थिए ।
गिरीले करिब चार वर्षअघि सुनसरीको इटहरीस्थित बालग्रामका एक बालिकालाई आश्रममा लगेर पढाउँछु भनेर यौन दुव्र्यवहार गरेको चर्चा चलेको थियो । ती किशोरीका अभिभावकले महिला सञ्जाल, ओरेक र माइती नेपालका प्रतिनिधिहरूलाई गिरीविरुद्ध थप बोल्न नदिएर उक्त घटना ढाकछोप गरिएको थियो । चतरा र बालग्रामका स्थानीय बासिन्दाले अहिले पनि उक्त घटनाबारे भन्न सक्छन् ।
सुनसरीका तत्कालीन प्रजिअ रामप्रसाद थपलियाको सहयोगमा ती बालिकालाई पढाउन भनेर भारतमा रातारात पठाइएको थियो । जो हालसम्म सम्पर्कमा आएका छैनन् । यसैबीचमा गिरीसँग अनेक युवतीहरूको नाम जोडिँदै आएको छ । हालै गिरीविरुद्ध बलात्कार आरोप लगाउने महिला पनि करिब पाच–सात वर्ष अघिदेखि अनुयायीका रूपमा रहेकी थिइन् ।
गिरी आफूलाई बालब्रह्मचारी भनेर बताउँदै आए पनि उनले यौनबद्र्धक जडिबुटी औषधि दूधसँग दैनिक सेवन गर्दैै आएका थिए । साधुसन्त ब्रह्मचारीलाई किन यौनबद्र्धक जडिबुटी सेवन गर्नुपरेको हो भनेर अनुयायीबीच नै पनि खासखुस चल्ने गरेको थियो ।