इटहरी/ सेवाग्राहीको अत्याधिक चाप हुने इटहरीमा रहेको कोशी अञ्चल यातायात कार्यालय ३० वर्षदेखि भाडाको घरमा बस्दै आएको छ । कोशी अञ्चल यातायात कार्यालय सवारी शाखा र लाईसेन्स शाखा लामो समयदेखि पार्किङ नै नभएको भाडाको घरमा बस्दा सर्वसाधरण सेवाग्राही हाईवेमै सवारी साधन राख्न बाध्य भएका छन् ।

इटहरी २ को हलगडामा रहेको सवारी कार्यालय र इटहरी २ आँपगाछीमा रहेको लाईसेन्स कार्यालयको बिजोक छ । भाडाको घरमा भएको कार्यालयमा पार्किङ नहुँदा अहिले दैनिक सर्वसाधारणहरूले सकडमै पार्किङ गर्ने गरेका छन् । इटहरी २ आँपगाछीका भुपाल पौडेलले पार्किङ अभाव ठुलो समस्या भएको बताए । सडकको दुवैपटि पार्किङ गर्नाले मुख्य हाईवेमा नै अवरोध हुन पुगेको पौडेल बताउँछन् ।

यातायात कार्यालयका कारण दैनिक सेवाग्राहीले सास्ती बेर्होनुपर्ने बाध्यता छ । दुई कार्यलयले वार्षिक राजश्वमात्र १ अर्ब ६० करोड उठाउँछ तर त्यही कार्यालयको हालत हेर्दा विरक्त लाग्दो छ । चालु आर्थिक वर्षको अहिले सम्म कोशी अञ्चल यातायात कार्यालय सवारीले १ अर्ब ३० करोड र लाईसेन्स शाखाले ३० करोड राजश्व उठाइकेको छ ।

वार्षिक करिब २५ लाख भाडा तिर्ने कार्यालयहरू भवनविहीन हुँदा सेवाग्राहीलाई समस्या हुन पुगेको छ । प्रदेशकै सबैभन्दा व्यस्त कार्यालय अहिले लथालिङ्ग अवस्थामा सञ्चालनमाहुदै आएको छ । पार्किङ अभावका कारण टाडाबाट आएका सेवाग्राहीहरू मारमा पर्ने गरेका छन् ।

‘६ लेन सडक निर्माणाधीन रहेका ठाउँमा पार्किङ अभावले आवतजावतमै समस्या भयो,’ शुक्रबार यातायात कार्यालय अगाडि भेटिएका इटहरी ६ का जगदीश श्रेष्ठले भने ।

यातायात कार्यालयको सवारीले मासिक १ लाख १५ हजार भाडा तिर्छ भने लाइसेन्स शाखाले ९५ हजार भाडा तिर्दै आएको छ । यातायात कार्यालयको आफ्नो ट्रायल सेन्टरसम्म छैन । दुलारीमा रहेको ट्रायल सेन्टरलाई वार्षिक १ लाख रुपैयाँ भाडा तिर्ने गरेको कोशी अञ्चल यातायात कार्यालयकी प्रमुख विन्दा नेपालले बताइन् । भाडाको घरमा पछाडि पार्किङ भए पनि सेवाग्राहीले नराख्दा साह्रै समस्या भएको बताइन् । हामीले सेक्युरेटी राखे पनि समस्या ज्यूँका त्यूँ भएको छ उनले भनिन् ।

इटहरी २ आँपगाछी र हलगडामा रहेको यो कार्यालय लथालिङ्ग अवस्थामा छ । दुवै कार्यालयको पार्किङ छैन । लामो समयदेखि भवन नबन्दा यातायात कार्यालय भाडाकै घरमा बस्न बाध्य छ । भाडामा बसेकोे घरसँगै अन्य स्थानीयका घर पनि जोडिएका छन् । स्थानीयका घरसँगै कार्यालय राख्नु पर्दा सेवाप्रवाहमा असहजता महसुस भएको त्यहाँ कार्यरत कर्मचारीहरूले जनाएका छन् । भवन पछाडि पार्किङ स्थल भए पनि सडकमै सवारी राखिदिँदा समस्या भयो । घरवालाको घर अगाडि पार्किङ हँुदा समस्या भयो उनले भनिन् ।

भवन बनाउन ढिलाइ
यातायात कार्यालय सवारी र लाइसेन्सको नाममा जग्गा भए पनि भवन नहुँदा भाडाका साँघुरो कोठामा कर्मचारीहरू काम गर्न बाध्य छन् । पार्किङ समस्याले अस्तव्यस्त बन्दै गएको कार्यालयले २९ वर्षसम्म भवन नबन्दा कर्मचारीहरूलाई मात्र हैन सर्वसाधरण पनि समस्यामा पर्दै आएका छन् । भवन निर्माणको तयारी भइरहेको समेत यातायात कार्यालय इटहरीले जनाएको छ ।

कार्यालयको इटहरी उपमहानगरपालिकामै १ विघा जमिन भए पनि भवन भने अहिलेसम्म निर्माण हुन सकेको छेन । हलगडा र आँपगाछीमा रहेका दुवै कार्यालयको जग्गा सरकारले खरीद गरे पनि अहिले सम्म भवन बनाउने काम शुरु भएको छैन । लामो समयदेखि भवन नभएको कार्यालयले भवन बनाउँदा सेवाग्राहीलाई राहत मिल्ने सेवाग्राहीहरू बताउँछन् ।