धरान/ आर्थिक अभावका कारण उपचार गराउन नसक्दा मोरङ कानेपोखरी गाउँपालिका–५ भौसाबारीका टीका तामाङ अपाङ्ग बन्न पुगेका छन् ।
१५ वर्षको उमेरमा खुट्टाको रोगबाट आक्रान्त बनेका उनी त्यही रोगका कारण अपाङ्ग बन्न पुगेका हुन् । त्यसबेला आर्थिक अभाव हुँदा उपचार गर्न नपाएपछि तामाङ शारीरिक अपाङ्ग बन्न पुगेका छन् । पुख्र्यौली थलो पाँचथरमै हुँदा उनलाई खुट्टा दुख्ने रोग शुरु भएको थियो । त्यसबेला आर्थिक अभाव हुँदा उपचार गर्न नपाएको उनले बताए । जसका कारण उनको दुवै खुट्टा नचल्ने भएको छ । बाल्यावस्थादेखि नै दुःखमा हुर्किएका तामाङ अहिले झनै दुःखमा जीवन व्यतित गरिरहेका छन् ।
दुःखमा जीवन व्यतित गरे पनि उनी भने दुई छोरा र एक बुहारी र नातिनीका धनी भएकोमा भने खुशी छन् । उनी ढाकाको टोपी बुनेर जीविकोपार्जन गरिरहेका छन् । सामान्य काम गर्न सक्ने उनी हातको सहाराले हिँडडुल गर्छन् । उनलाई विराटनगरको सिवीआर संस्थाले अपाङ्ग मैत्री साइकल सहयोग गरेको छ । जसले गर्दा उनी अहिले सहज रूपमा हिँड्न सक्ने भएका छन् । त्यसैमा उनी दाउरासमेत बोकेर ल्याउन सक्ने भएका छन् । घरका सानोतिनो कामकाज पनि उनी त्यही साइकलको साहाराले गर्दै आएका छन् । श्रीमतीको दरिलो साथकै कारण उनको जीवन सहज भएको छ ।
टीका तामाङकी श्रीमती भन्छिन्, ‘धेरै दुख छ घरपरिवारको गुजारा चलाउन श्रीमान्ले कमाउन सक्ने स्थिति छैन ।’ घरको आर्थिक अवस्थाकै कारण जेठा छोराले कक्षा ७ पढ्दा पढ्दै पढाइ छाड्नुपर्यो । बेला बेलामा मुर्छा पर्ने रोग भएको टीकाकी श्रीमती बताउँछिन् । ऋण गरेर सानो घर त बनाएका छन् । तर, ऋण कहाँबाट तिर्ने भन्ने चिन्ताले उनीहरूलाई सताएको छ । कहाँबाट ल्याएर ऋण तिर्ने भन्ने चिन्ताले उनीहरूलाई रातोदिन सताउँछ ।