भद्रपुर/ ठेक्का सम्झौताको मिति नाघेको तीन महिनाभन्दा बढी बित्न लाग्दासमेत सडक कालोपत्रे नगरेको भन्दै स्थानीय जनता आक्रोसित बनेका छन् ।

भारतको सीमावर्ती नाका जोड्ने पाठामारीदेखि बनियानी हुँदै बालुवाडीसम्मको सडक कालोपत्रे निर्माणका लागि सरकारले स्वीकृत आयोजना प्रतिवेदन (डिपीआर) तयार गरी भ्याटसहित १६ करोड ३६ लाख ६३ हजार ८ सय ४९ रुपैयाँ तोकेर टेण्डर आह्वान गरेको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय, डिभिजन सडक कार्यालय दमकले २०७३ साल माघ २४ गते गजुरमुखी निर्माण कम्पनी इलामसँग ठेक्का सम्झौता गरेको थियो ।

७ दशमलव १७ किलोमिटर सडकको चौडाइ ५ दशमलव ५ मिटर रहेको छ । सडकमा ११ वटा ह्युमपाइप कल्भर्ट, ४ वटा स्ल्याभ कल्भर्ट, एउटा बक्स कल्भर्ट र ५ सय मिटर नालासहितको कालोपत्रे सडकको ठेक्का गजुरमुखीले १० करोड ८१ लाख ५७ हजार ३ सय १६ रुपैयाँमा लिएको डिभिजन सडक कार्यालय दमकले जनाएको छ । ३० महिनामा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता गरेको निर्माण कम्पनी गजुरमुखीको म्याद २०७६ साल साउन २३ गते सकिसकेको छ । तर पनि सडक बनाउने विषयमा कुनै पहल नभएको स्थानीय गुनालाल गणेशले बताए ।

वर्षायाममा पानी जमेर र हिउँदमा धुलो उडेर सडक आसपासका बासिन्दाले सास्ती खेप्नुपरेको स्थानीय इस्माइल मियाँले बताए । ३० महिनामा बनिसक्ने सडक अहिलेसम्म नबनेकोले अब पनि बन्छ कि बन्दैन भन्ने निश्चित नभएको उनको भनाइ छ । सङ्घीय संरचनामा जानुअघिको तत्कालीन सरकारले दक्षिणी झापावासीको यातायात सुविधालाई मध्यनजर गरी कालोपत्रे सडक निर्माणका लागि बजेट छुट्याएको थियो ।

मेची राजमार्गबाहेक दक्षिणी झापाको कचनकवल गाउँपालिकामा पहिलो पटक भित्री सडक–खण्डमा कालोपत्रे बनाउने योजना परेको थियो । साबिक पाठामारी–बनियानी–बालुवाडी गरी तीनवटा गाविसलाई जोड्ने उद्देश्यले सरकारले कालोपत्रे सडक बनाउने योजना अघि सारेको थियो । सरकारले टेण्डर आह्वान गरी ठेक्कासमेत लगाइसकेको छ । तर, निर्माण कम्पनीको ढिलासुस्ती र लापरबाहीका कारण अहिलेसम्म सो सडक–खण्ड बन्न सकेको छैन । सडक हुँदा पनि वर्षाको समयमा पाठामारी बजारसम्म यातायातका सवारीसाधन आउँदैन, गाउँमा कोही बिरामी परे बोकेर लैजानु पर्ने ठूलो समस्या स्थानीयले भोग्दै आएका छन् ।

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा झापा क्षेत्र ३ बाट निर्वाचित भएका नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पाठामारीमा आयोजित एक कार्यक्रमका बीच सडकको शिलान्यास गरेका थिए । शिलान्यास कार्यक्रममा गजुरमुखी निर्माण कम्पनीका ठेकेदार प्रकाश कडेरीयाले ३० महिनाभित्र कालोपत्रे सडक सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । ठेकेदार कडेरीयाले गरेको प्रतिबद्धताअनुसार अहिलेसम्म सडक जस्ताको त्यस्तै छ ।

गजुरमुखी निर्माण कम्पनीले बनियानी बजार सडक आसपासको क्षेत्रमा ३३ महिनामा दुईतर्फ अधुरो पक्की नाला बनाएर छाडिदिएको छ । निर्माण कम्पनी बनियानी बजारक्षेत्रमा ५ सय मिटर स्ल्यावसहितको पक्की नाला बनाउनुपर्ने हो । तर, अहिलेसम्म ५० मिटर नाला बनाउन बाँकी छ । स्थानीयका अनुसार निर्माण कम्पनीले अहिलेसम्म ३३ महिनाको अवधिमा नाला, ८ वटा ह्युमपाइप र केही कल्भर्ट मात्र बनाएको छ । निर्माण कम्पनीले नाला बनाउने काम पेटी ठेक्कामा रमेश पौडेल र मदन केसीलाई दिएको छ । निर्माण कम्पनीले अहिलेसम्म गरेको नाला र कल्भर्टको काम पनि गुणस्तरहीन बनेको स्थानीय बताउँछन् । निर्माण कार्यमा कमसल सिमेन्ट, बालुवा र गिट्टीमा सिमेन्टको मात्रा कम दिएकोले गुणस्तरमा समेत प्रश्नचिन्ह स्थानीयले उठाएका छन् ।

गजुरमुखी निर्माण कम्पनी इलामका ठेकेदार प्रकाश कडेरीयाका अनुसार सङ्घीय संरचनामा देश जानुअघि नै यो सडकको ठेक्का लागेको हो । निर्माण भइरहेकै अवस्थामा देशको संरचना परिवर्तन हुँदा बजेट निकासमा समस्या आएका कारण समस्या देखिएको उनको भनाइ छ । ठेक्का लागि सकेको सडक सङ्घीय वा प्रदेश सरकार कसले जिम्मा लिन्छ भनी कुर्दा १० महिना लागेका कारणले निर्माणमा ढिलाइ भएको उनले स्वीकारे । डिभिजन सडक कार्यालय दमकबाट ६ महिनाको म्याद थपिसकेकोले अब ६ महिनाभित्रै कालोपत्रे सडकको काम सक्ने उनले प्रतिबद्धता जनाए ।