विराटनगर/ योगदानमा आधरित सामाजिक सुरक्षा कोष कार्यन्वयनमा आएको एक वर्ष पूरा भइसक्दा पनि प्रदेश १ बाट रोजगारदाता प्रतिष्ठान तथा श्रमिकको विवरण सूचीकृत गराउनेको सङ्ख्या न्यून रहेको पाइएको छ ।

प्रदेश १ मा १ लाख ६८ हजार ४३४ रोजगारदाता प्रतिष्ठान रहेका छन् । प्रदेश १ बाट हालसम्म १ हजार ७ सय ६ वटा मात्र उद्योग प्रतिष्ठान सुचीकृत छन् भने १५ हजार ७ सय ३५ श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् । देशभरीमा हालसम्म कोषमा १ लाख १५ हजार ६ सय श्रमिक सूचीकृत भएका छन् भने १० हजार ४ सय ७७ उद्योग प्रतिष्ठान आबद्ध भएका सामाजिक सुरक्षा कोषका प्रवक्ता रमा भट्टराईले जानकारी दिइन् । हालसम्म कोषमा १७ करोड योगदान रकम सङ्कलन भएको छ । प्रदेश १ मा सबैभन्दा धेरै औद्योगिक प्रतिष्ठान मोरङ र सुनसरीमा छन् ।

सामाजिक सुरक्षा ऐन कार्यान्वयन प्रक्रिया झन्झटिलो रहेको भन्दै रोजगारदाता प्रतिष्ठान कोषमा सूचीकृत हुन आनाकानी गरेपछि मजदुर सङ्गठनहरूले तत्काल उद्योग प्रतिष्ठान कोषमा सूचीकृत गरिनुपर्ने माग राख्दै दबावमुलक कार्यक्रम शुरु गरेका छन् । लागू भएको एक वर्ष पूरा हुँदा पनि न्यून सङ्ख्यामा प्रतिष्ठानहरू सूचीकृत भएको भन्दै श्रमिकहरू आन्दोलित भएका छन् । सामाजिक सुरक्षा कोषमा उद्योग प्रतिष्ठानले कार्यरत श्रमिक सूचीकृत गरिनुपर्ने माग राख्दै यहाँका श्रमिकहरू आन्दोलित भएका हुन् ।

संयुक्त टे«ड युनियन समन्वय केन्द्र प्रदेश १ को अगुवाइमा विराटनगरमा बिहीबार श्रमिकहरूले बृहत् ¥याली निकालेका छन् । सरकारले तोकेको समय सीमाभित्र योगदानमा आधरित सामाजिक सुरक्षा कोष लागू गरिनुपर्नेलगायतको माग राख्दै उनीहरूले ¥याली निकालेका थिए । विराटनगरस्थित अतिथि सदनबाट निकालिएको र्याली नगरको विभिन्न भाग परिक्रमा गरेर उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घलाई ज्ञापन पत्र बुझाएका थिए ।

मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडालाई भेटेर संयुक्त ट्रेड युनियनका पदाधिकारीहरूले ज्ञापन पत्र बुझाए । ¥यालीपछि आयोजित कोण सभामा बोल्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र प्रदेश १ का अध्यक्ष किशोर धमलाले योगदानमा आधरित सामाजिक सुरक्षा कोष ल्याएको एक वर्ष बितिसक्दा पनि न्यून सङ्ख्यामा सूचिकृत गरिएकोले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।

‘सूचीकृतको समय पटक पटक थप गर्दै जानु र रोजगारदाता श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नमा ढिलाइ भइरहेको छ,’ उनले भने, ‘सूचीकृतमा ढिलाइ भएकोले आन्दोलनमा उत्रिनु परेको हो ।’ सरकाले ल्याएको योगदानमा आधरित सामाजिक सुरक्षा कोष प्रभावकारी रूपमा कार्यन्वयनमा ल्याउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा अखिल नेपाल टे«ड युनियन प्रदेश १ का अध्यक्ष टीका प्रसार्इं, उपाध्यक्ष उपेन्द्र राय, नेपाल ट्रेड युनियन काङ्ग्रेस मोरङका अध्यक्ष सुशील कोइरालालगायतले श्रमिकको त्याग र सङ्घर्षबाट आएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा उद्योग प्रतिष्ठान सुचीकृत भई प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्ने बताए ।