यासोक/ पाँचथरको कुम्मायक गाउँपालिकामा सडक निर्माणको क्रममा सडक आसपासका घरहरू जोखिममा परेका छन् ।
गाउँपालिकाको केन्द्र यासोकदेखि सदरमुकाम जोड्ने एक मात्र सडक फिदिम यासोक सडक खण्ड हो । प्रदेश सरकारको ५३ करोड ३३ लाख ६ हजार ४ सय ७१ भ्याट सहितको रकमबाट लामा च्याङमिला जेभीले सोही सडकमा कालो पत्रेको काम गर्दै आएको छ ।
फिदिम यासोक सडकको यासोकदेखि सरखण्डेसम्मको ११.३१०किलोमिटर सडक कालोपत्रे हुने भएपछि कुम्मायक ४ रानीगाउँ लाइनमा रहेका नयाँ निर्मित र पुराना घरहरूमा क्षति हुन सक्ने सम्भावना बढेको छ । डिपिआर र लागत कट्टा भइसकेको सडकमा घरहरू निर्माण भएका छन् । नाली सहितको २७ फुट सडक निर्माण गर्दा अधिकांश घरमा क्षति पुग्ने समस्या देखिएको छ ।
निर्माण कम्पनीले बजारको सो क्षेत्रमा स्थानीयतहसँगको समन्वयमा काम अघि बढाउने भएको छ । यता स्थानीयतहले पनि सूचाना प्रकाशन गर्नुपर्ने भएकाले निर्माण कम्पनीले आयोजनाको काम यासोक बजारबाट नभई सरखण्डेबाट शुरु गरेको आयोजनाका प्रोजेट मेनेजर लोकेश कार्कीले बताए ।
बढी क्षति हुने बजारको रानीगाउँ लाइनमा सडकको मापदण्ड मिचेर निर्माण भएका घरसहितका संरचनामा क्षति हुन सक्ने कुम्मायक १ का वडाध्यक्ष देवेन्द्रकुमार लावतीले बताए । लामो समयदेखि डिपिआर भइसकेको सडक मिचेर केही घरहरू निर्माण भएका छन् । स्थानीयका घर र घडेरीको क्षतिको विषयमा गाउँपालिकामा छलफलसमेत भएकाले योजनाको काममा व्यवसायीबाट अवरोध नआउने गरी गृहकार्य गर्ने उनको भनाइ छ ।
एक दशक अगाडि त्रिपलआरले फिदिम यासोक सडकको ट्र्याक खोलेको थियो । लामो समयदेखि फिदिम–यासोकको सडक स्तरोन्नति गर्नुपर्ने माग गर्दै आएका स्थानीयको सपना पूरा त भएको छ । तर, सडक आसपासका घर र घडेरी सडकको मापदण्ड नबुझी खरिद गर्दा यस्तो समस्या भएको कुम्मायक गाउँपालिकाले जनाएको छ ।
यासोक–सरखण्डे सडकअन्तर्गत सरखण्डेबाट कालोपत्रे सडकको काम शुरु गरिएको छ । भौतिक क्षतिको सम्भावना रहेको कुम्मायक–४ को रानीगाउँस्थित तिङदेन बजार पनि रहेको छ । उक्त क्षेत्रमा पनि सहमति जुटाउनुपर्ने देखिन्छ । पूर्ण रूपमा क्षति नभए पनि आंशिक क्षति हुन सक्ने निर्माण कम्पनीले जनाएको छ ।
त्यस्तै वडा नम्बर ३ मा पर्ने सम्बाहाम्फे उत्थान सङ्घले संरक्षण गर्दै आएको ऐतिहासिक देवल सडकमै रहेको छ । सडक निर्माण गर्दा धार्मिक सम्पदा जोगाउनै पर्ने बाध्यता रहेको छ । देवल संरक्षणको लागि सडकको आसपासबाट ग्याभिङ वाल लगाएर धार्मिक सम्पदा जोगाउने पक्षमा स्थानीयतह पुगेको छ ।