विराटनगर/ विराटनगर महानगरपालिका–१५ स्थित हरिनगरा भट्टामा निर्माण भइरहेको सहायक सडकको नाला मापदण्डविपरीत काम भएपछि स्थानीयले भत्काइदिएका छन् । तोकिएको भन्दा मापदण्डविपरीत नालाको निर्माण भएपछि स्थानीयले भत्काइदिएका हुन् ।

उपभोक्ता समितिमार्फत् एकसाता अगाडिदेखि विराटनगर–१५ स्थित हरिनगरा भट्टामा नाला निर्माणको काम भइरहेको छ । १२ लाख रुपैयाँमा गोपाल साह अध्यक्ष रहेको उपभोक्ता समितिले गत असारमा विराटनगर–१५ को वडा कार्यालयसँग सम्झौता गरी एकसाता अगाडिदेखि नाला निर्माणको काम शुरु गरेको हो । १० सेन्टिमिटरको नालासहित १४ फिटको रड लगाएर ८७ मिटरको आरसिसी ढलाइ ०७६ मङ्सिर अन्तिमसम्ममा सक्ने गरी काम शुरु भएको थियो । प्रारम्भिक चरणमा नाला निर्माणको काम शुरु गरेको एक सातामा मापदण्डविपरीत काम भएपछि करिब २० मिटर निर्माण भएको नाला स्थानीयले भत्काइदिएको विराटनगर–१५ का वडाध्यक्ष असलम आलमले जानकारी दिए ।

‘१४ फिटको सडकमा १० सेन्टिमिटरको नाला बनाउनुपर्ने मापदण्ड कायम गरिएको थियो’ वडाध्यक्ष आलमले भने, ‘भट्टाचौकमा निर्माण भइरहेको नाला मापदण्डविपरीत ५ सेन्टिमिटरको मात्र भएको पाइयो । मापदण्डविपरीत नाला निर्माण भएको भेटिएपछि अहिले भत्काइएको छ ।’ मापदण्डविपरीत बनाएको करिब २० मिटर सडक भत्काएर पुनः मापदण्ड कायम गरी निर्माण गर्न निर्देशन दिएको उनले बताए । ‘नालाको चौडाइ कम भएको हुँदा पछि नालाभित्र रहेको फोहोर झिक्न पनि अप्ठ्यारो हुन्छ’ वडाध्यक्ष आलमले भने, ‘स्थानीयले मापदण्डविपरीत काम भइरहेको जानकारी गराएपछि तत्काल आएर मापदण्डविपरीत भएको नाला भत्काएको हो ।’

मापदण्डविपरीत बनेको नाला भत्काएर बुधबारदेखि पुनः निर्माण कार्य शुरु गरेको वडाध्यक्ष आलमले बताए । वडामा भएका जति पनि विकास निर्माणका काम गुणस्तरहीन भेटिए तत्काल भत्काएर गुणस्तरीय बनाउन आफू लागिपर्ने उनले बताए । उनले आफ्नो क्षेत्रमा भइरहेको विकास निर्माणका काम गुणस्तरीय बनाउन सबै नगरबासीले खबरदारी गरिनुपर्ने बताए ।

निर्माणको जिम्मा पाएको उपभोक्ता समितिका अध्यक्ष गोपाल साहले निर्माणको क्रममा प्राविधिकले गल्ती गरेको स्वीकार गरे । ‘पहिलो चरणमा सडकको नाला निर्माण कार्यको शुरुवातमा प्राविधिकबाट गडबड भयो’ उनले भने, ‘सुता तानेर काम गर्ने क्रममा प्राविधकले थोरै गल्ती गरेको पाइयो । हामीले तत्काल मापदण्डविपरीत बनेको नाला भत्काएर पुनः निर्माण शुरु गरेका छौं ।’ अब बन्ने सडक र नाला मापदण्डअनुसार गुणस्तरीय बन्ने उनको भनाइ छ ।

यसअघि सघन शहरी विकास परियोजनाअन्तर्गत विराटनगरस्थित निर्माणाधीन ‘रोडशेष चौक–रानी सडक’ मा गुणस्तरहीन काम हुने गरेको पाइएको थियो । निर्माण कम्पनीले सडक कालोपत्रे (पिच) गर्नुअघि धुलोमा ‘प्राइमर कोट’ लगाउने गरेको पाइएको थियो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीसहित प्राविधिकको टोलीले गरेको अनुगमनको क्रममा रमण कन्स्ट्रक्सन कम्पनीले लापरबाहीपूर्ण तरिकाले सडक बनाउने गरेकोे भेटिएको थियो । रोडेशषचौक–रानी सडक–खण्ड अन्तर्गत करिब पाँच किलोमिटर सडकमध्ये १ हजार ३ सय मिटरमा गुणस्तरहीन काम भइरहेको भेटिएको थियो । गुणस्तरहीन काम गरेको भेटिएपछि निर्माण कम्पनीले सुधार गरी काम गर्ने प्रतिबद्धता जनाएको थियो ।