धरान/ अचानक पेट दुखेपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेण्डिसाइटिस भएको पाइएपछि शल्यक्रिया गरिएको छ ।

प्रम ओलीलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा एपेण्डिसाइटिसको शल्यक्रिया गरिएको छ । प्रम ओलीको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

तर, केही दिनसम्म अस्पताल बस्नुपर्ने उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । तर, कति दिन बस्नुपर्ने भन्ने विषयमा यथेष्ट जानकारी दिइएको छैन । ओलीको दुई दिनअघि मात्रै धापासीस्थित ग्राण्डी अस्पतालमा मिर्गौलाको डायलासिस गरी फर्किएका थिए ।

१२ वर्षअघि मिर्र्गाैला प्रत्यारोपण गरेका उनको पछिल्लो समय समस्या आएपछि चौथो पटक डायलासिस गरिएको हो । यता मङ्गलबार बिहानै पेटमा समस्या आएपछि जाँचका लागि मनमोहन सेण्टर पुगेका थिए ।

उपचारमा संलग्न चिकित्सक अरुण सायमीले एपेण्डिसाइटिसको सानो शल्यक्रिया भएको जानकारी दिए । मिर्गौलाको प्रत्यारोपण गरेका कारण पनि उनलाई तत्कालै डिस्चार्ज गर्ने वातावरण नभएको चिकित्सकको भनाइ छ ।