भण्टावारी / सुनसरीको हरिनगर गाउँपालीकामा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । हरिनगर गाउँपालीका वार्ड नम्बर ५ स्थित श्री बसन्तपुर माविको प्राङ्गनमा हरीनगर गाँउपालिकाको सहयोगमा सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेक्वा सुनसरी र हातेमालो फाउण्डेसन धरानको संयुक्त आयोजना शनिबार स्वास्थ्य शिविर सम्पन्न भएको डिएसपी मित्र श्रेष्ठले जानकारी दिए ।

उक्त शिविरमा हाड जोर्नी, नाक,कान,घाटी, आँखा, दाँत, गाईनो, छाला र फिजिसियन बिशेषज्ञ चिकित्सकहरुको उपस्थितीमा एक दिने निशुल्क बृहत स्वास्थ्य शिविर कार्यक्रम संचालन भएको उनले बताए । स्वास्थ्य शिविरमा ५०० जना स्थानीय लाभान्वित भएको डिएसपी श्रेष्ठले बताए । सो कार्यक्रममा हरिनगर गाँउपालिकाका अध्यक्ष गफार अन्सारी¸ सशस्त्र प्रहरी बल नेपाल नं ४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकाल सहित हातेमालो फाउण्डेसनबाट १६ जना बिशेषज्ञ चिकित्सकहरुको उपस्थित रहेको थियो ।

उक्त शिविरलाई उद्घाटन गर्दै हरिनगर गाँउपालिकाका अध्यक्ष गफार अन्सारीले सशस्त्र प्रहरी बल नेपालले जनताको शान्तिसुरक्षा प्रदान गर्ने अहम जिम्मेवारी पुरा गर्दै आउनुका साथै सामाजिक कार्यहरुमा सरिक भएकोमा धन्यवाद दिए । ग्रामिण क्षेत्रका सर्वसाधारण अस्पतालको पहुँच सम्म पुग्न नसकेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेक्वा सुनसरी र हातेमालो फाउण्डेसन धरानको संयुक्त आयोजना भएको कार्यक्रमले स्थानीय जनता घरमै सेवा लिन पाउदा खुशीको अन्सारीले बताए ।

स्वास्थ्य शिविर जस्ता सामाजिक कार्यहरुले स्थानिय जनता र सुरक्षाफौज बीच सुमधुर सम्बन्ध र सकारात्मक सोचको विकास हुने भएकोले आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गरिने सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेक्वा सुनसरीका सशस्त्र प्रहरी एसपी कृष्ण ढकालले बताए ।