विराटनगर/ अवैध हुण्डीको कारोबार गर्ने सुनसरी बर्जु गाउँपालिका–३ का २४ वर्षीय उमाकान्त राय गत असोज २७ गते नगद १० लाख रुपैयाँसहित विराटनगरबाट पक्राउ परेका थिए । उनी विराटनगरस्थित गणपति मनी ट्रान्सफरको आडमा हुण्डीको कारोबार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । उनी उक्त मनी ट्रान्सफरका लेखा फाँटमा कार्यरत थिए ।

विराटनगरमा सहकारीको आडमा हुने गरेको हुण्डीको कारोबार यो घटनाले मनी ट्रान्सफरबाट हुने गरेको देखियो । मनी ट्रान्सफरको आडमा हुण्डीको कारोबार गर्ने उमाकान्तलाई पक्राउ गरेको एक हप्तापछि मोरङ प्रहरीले विराटनगर–७ बाट हुण्डीको कारोबार गर्ने अर्का स्थानीय ४९ वर्षीय विनोदप्रसाद साहलाई ७ लाख १८ हजार ८ सय रुपैयाँसहित पक्राउ गर्यो । प्रहरीले उनलाई कात्तिक ३ गते हुण्डी कारोबारको रकमसहित पक्राउ गरेको थियो ।

सोही दिन विराटनगर भन्सार कार्यालयको २ नं. ढाटबाट नेपालतर्फ पैदल आउँदै गरेको भारती माधुगढजालौन उमरी उत्तर प्रदेशका २४ वर्षिय आसुतोष सोनीलाई पनि भारु २ लाखसहित हुण्डी कारोबारमा प्रयोग भएको रकमसहित पक्राउ परेका थिए । अवैध हुण्डीको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको २१ दिन बित्न नपाउँदै आइतबार विराटनगरबाट ७ लाख रुपैयाँसहित २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना भारतीयमूलका नागरिक छन् ।

विराटनगर–१४ ओमसाइराम टोलका ३० वर्षीय ज्योतिकुमार साह र भारत अररिया–१७ जोगवनी साहुटोलका १९ वर्षीय विक्कीकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । उल्लेखित घटनाले प्रदेश १ को राधजानी रहेको शहर विराटनगरमा अवैध हुण्डीको कारोबार फस्टाएको देखाउँछ । हुण्डीको पैसाँ बोकेर सम्बन्धित ठाउँमा पु¥याउने भरियालाई मात्र पक्राउ गरिरहँदा अवैध हुण्डीको कारोबार गर्ने मुख्य नाइकेलाई प्रहरीले पक्राउ गर्न नसक्दा महानगर क्षेत्रमा हुण्डी कारोबार सक्रिय रहेको उल्लेखित घटनाले पनि पुष्टि गरेको छ । मोरङ प्रहरीले असोज २७ देखि कात्तिक २२ गते एक महिनाको अवधिमा २७ लाख ३८ हजार ८ सय रुपैयाँसहित पाँचजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार पक्राउ गरेको ३९ प ७३९६ नं. को मोटरसाइकल प्रयोग हुण्डीको रकम गन्तव्यमा पु¥याउने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजकुमार खिउँजुले जानकारी दिए । प्रहरीले ज्योतिकुमारको साथबाट चार लाख र सोही मोटरसाइकलमा सवार रहेका विक्की कुमारको साथबाट तीन लाख रुपैयाँ बरामद गरेको थियो । ‘पक्राउ परेका दुवै जना भरिया रहेको खुलेको छ’ डिएसपी खिउँजुले भने, ‘हुण्डीमा प्रयोग भएको रकम जोगवनीमा लिएर विराटनगर आउने क्रममा पक्राउ परेका हुन् ।’ उनीहरूले सम्बन्धित ठाउँमा हुण्डीको रकम पु¥याए बापत प्रतिव्यक्ति १ लाखको एक सय रुपैयाँ पाउने गरेको बयानको क्रममा प्रहरीलाई बताएका छन् ।

अवैध हुण्डीको कारोबार गर्ने गिरोहले १ लाख रुपैयाँ पठाउँदा ३ हजारदेखि ५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको प्रहरीका अनुसन्धान अधिकारीहरू बताउँछन् । मनी ट्रान्सफरबाट अहिले ५० हजारभन्दा बढी पठाउन नपाउने र बैङ्कबाट १० लाखभन्दा बढी रकम पठाउँदा स्रोत खुलाउनुपर्ने भएकोले अवैध धन्दा गर्नेहरू हुण्डीको प्रयोग गर्दछन् । हुण्डीबाट कारोबार गर्दा स्रोत देखाउनु नपर्ने र राजस्वसमेत छली गर्ने भएकोले विराटनगरमा ठूलो सङ्ख्यामा हुण्डीको कारोबार हुने गरेको प्रहरीको भनाइ छ । हुण्डीको कारोबार गर्नेको नेटवर्क अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको छ ।

प्रहरीले हुण्डी कारोबारमा संलग्न भरियालाई मात्र पक्राउ गर्दै आएको छ । ‘हुण्डीमा संलग्न गिरोहको कनेक्सन यस्तो हुन्छ कि भरिया र हुण्डी कारोबार गर्ने मुख्य मान्छेबीच चिनजान नै हुँदैन’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘त्यही भएर पनि पक्राउ गर्न सकिरहेका छैनौं ।’