ताप्लेजुङ/ ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाको सान्थाक्रामा एक मनमोहक पोखरी छ । गुराँसे पोखरीका नामले परिचित यस पोखरीमा घुम्न पुग्ने आन्तरिक पर्यटक समेत बढ्दै गएका छन् ।

स्थानिय सरकार गठन भएपछि पोखरीको संरक्षणमा स्थानिय जनप्रतिनिधिले चासो देखाएसँगै यहाँ पुग्ने आन्तरिक पर्यटक बढ्दै गएका हुन् । पुरानो प्राकृतिक सम्पदाको संरक्षण गर्दै आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य सहित मेरिङ्देन गाउँपालिकाले गुराँसे पोखरी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालेको छ । मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राको शिरमा रहेको यस पोखरी संरक्षणका साथै आवश्यक प्रचारप्रसारको अभावमा ओझेलमा थियो ।

हाल मेरिङ्देन गाउँपालिकाले गएको आर्थिक वर्षदेखि नै आफ्नो विषेश कार्यक्रममा समेटेर गुराँसे पोखरीलाई संरक्षण गरी आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पोखरी संरक्षण लगायतका क्रियाकलापहरू गर्न थालेको गाउँपालिका अध्यक्ष गणेश बहादुर लिम्बूले जानकारी दिए ।

अध्यक्ष लिम्बूका अनुसार गुराँसेलाई संरक्षण गर्नका लागि गएको आर्थिक वर्षमा गाउँपालिकाले २५ लाख रुपैयाँ विनियोजन गरेको र उक्त रकम खर्च गरेर पोखरी क्षेत्रको संरक्षणका लागि घेराबारा तथा पोखरी वरिपरि पदमार्ग निर्माण गरिएको छ । सोही रकमले पोखरीसम्म पुग्ने मोटर बाटोको ट्रयाक खोल्ने तथा पोखरी क्षेत्रको सरसफाई गरिएको छ । गाउँपालिकाले संरक्षणको शुरुवात गरेको सो पोखरी संरक्षणका लागि यस वर्ष पर्यटन मन्त्रालयले समेत १० लाख विनियोजन गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत सूर्यमान ओख्राबुले जानकारी दिए । यस्तै यस आर्थिक वर्षका लागि गाउँपालिकाले समेत ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

निकै रमणीय तथा घमाइलो स्थान भएकाले पनि यस क्षेत्रलाई पिकनिक स्पटका रूपमा विकास गर्दै होमस्टे सञ्चालन गरी आर्थिक उपार्जनतर्फ केन्द्रित गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष लिम्बूले सुनाए । साथै सो स्थानमा टी गार्डेन, भ्यूटावरसहितका संरचना निर्माण गर्ने समेत गाउँपालिकाको योजना छ । गुराँसे पोखरीका नामले परिचित यस पोखरी आसपासका क्षेत्रमा विभिन्न प्रजातिका गुराँसका बिरुवासमेत रोपिएको छ ।

यसका साथै सो स्थानबाट कञ्चनजङ्घा, कुम्भकर्णलगायतका हिमश्रृङ्खलाहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ । ‘पहिले त यहाँसम्म आउने बाटो पनि राम्रो थिएन । संरक्षण अभावमा पोखरी नै सङ्कटमा परेको थियो तर गाउँपालिकाले संरक्षणको काम थालेपछि भने आन्तरिक रूपमा पर्यटकहरू आउने क्रम बढेको छ ।’ स्थानीय दुर्गा ओख्राबुले भनिन् । अझै यस क्षेत्रलाई प्रचारप्रसारमा जोड दिन सके स्थानीयले समेत लाभ लिने उनको भनाइ छ । गुराँसे पोखरी नजिकै रहेको ईश्वानाम्वा पोखरीलाई समेत संरक्षणका लागि योजना बनाइरहेको गाउँपालिकाले जानकारी दिएको छ ।