बीबीसी नेपाली/ नाक, आँखा र टाउकोको भाग बिना नै एकजना बच्चा जन्मिएपछि प्रसुतीसम्बन्धी एकजना पोर्चुगलका डाक्टर निलम्बनमा परेका छन्।

रोड्रिगो नामक शिशुका आमाबुवालाई यो महिनाको सुरुमा आफ्नो छोरा नजन्मिँदासम्म उसमा थुप्रै शारीरिक दुर्बलता होला भन्ने थाहै थिएन। हेलचक्य्राइँको आरोप लागेपछि प्रसुतीसम्बन्धी डाक्टर आर्तर कारभालोलाई निलम्बन गर्न त्यहाँको मेडिकल काउन्सिलका अधिकारीहरूले निर्णय गरेका थिए।

यो घटना बाहिर आएपछि बच्चाहरूको उपचारमा भएका लापरबाहीबारे एक दशकभन्दा लामो समयदेखिका उजुरीहरू रहेको पनि खुलेको छ। पोर्चुगलका मिडियाहरूले पेस गरेका त्यस्ता उजुरीको विवरणले व्यापक रूपमा आक्रोश निम्त्याएको छ।

डाक्टर कारभालोले आफूमाथिका कुनै पनि आरोपबारे सार्वजनिक रुपमा प्रतिक्रिया जनाएका छैनन् र बीबीसीले उनलाई प्रत्यक्ष सम्पर्क गर्न सकेको छैन।

रोड्रिगोलाई के भएको थियो ?

राजधानी लिज्बनबाट ४० किलोमिटर दक्षिणमा पर्ने एक अस्पतालमा रोड्रिगोको ७ अक्टोबरमा जन्म भएको थियो। रोड्रिगोका आमाले गर्भवती भएका बेला डाक्टर कारभालोको निजी क्लिनिकमा तीनपटक अल्ट्रासाउण्ड गराएकी थिइन्।

तर गर्भमा रहेको बच्चाको स्वास्थ्यबारे डाक्टरले केही पनि भनेका थिएनन्। त्यसपछि रोड्रिगोकी आमाले आफू ६ महिनाको गर्भवती हुँदा चौथोपटक अर्कै क्लिनिकमा उच्चस्तरको ुफाइभ डीु अल्ट्रासाउण्ड गराएकी थिइन्।

उक्त जाँचमा भने बच्चामा केही दुर्बलता हुनसक्ने विषय उठाइएको थियो। तर त्यसबारे डाक्टर कारभालोलाई सोध्दा उनले त्यसलाई त्यति ठूलो समस्या नभएको बताएका थिए।

'कतिपय बेला बच्चाको अनुहार आमाको कोखमा टाँसिने भएकोले अल्ट्रासाउण्डमा उनीहरूको अनुहार देखिँदैन भनेर उनले व्याख्या गरेका थिए,' रोड्रिगोकी काकीले एउटा स्थानीय सञ्चारमाध्यमलाई भनेको कुरा एएफपीले उद्धृत गरेको छ।

पछि असामान्य स्वास्थ्य अवस्थासहित रोड्रिगो जन्मिने स्पष्ट भएपछि केही घन्टामात्रै उनी बाँच्ने बताइएको थियो। तर, दुईसाताभन्दा बढी भइसक्दा पनि अस्पतालको हेरचाहमा उनी जीवित नै छन्। उनका आमाबुवाले पोर्चुगलको अभियोजनकर्ताको कार्यालयमा डाक्टर कारभालोविरुद्ध उजुरी दिएको बताइएको छ।

अन्य घटनाहरू के हुन्रु

रोड्रिगोको घटनाबारे आक्रोश व्यक्त भइरहेका बेला डाक्टर कारभालोविरुद्धका अन्य उजुरी पनि बहसमा आएका छन्। उनीविरुद्ध सन् २०१३ यताका कम्तीमा ६ वटा उजुरीहरू अहिले अनुसन्धानका लागि खोलिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

अन्य अभिभावकले पनि गर्भवती भएका बेलाको स्वास्थ्य समस्या डाक्टर कारभालोले पहिचान नगरेको आफ्नो भोगाइ पोर्चुगलको सञ्चारमाध्यममा व्यक्त गरेका छन्।

सन् २०११ को एउटा घटनामा एकजना शिशु अनुहार, मस्तिष्क र खुट्टामा थुप्रै समस्यासहित जन्मिएका थिए। लरा अफोन्सो नाम गरेकी आमाले पब्लिको पत्रिकासँग उक्त घटनाबारे बताएकी छन्।

उनले त्यतिबेला आफूले डाक्टरविरुद्ध उजुरी दिए पनि त्यसलाई अभियोजनकर्ताले अघि नबढाएको बताइन्। अहिले उनकी छोरी ८ वर्षकी हुँदा थुप्रैपटक शल्यक्रिया भइसकेको छ, तर उनी बोल्न र हिँड्न सक्दिनन्।

पब्लिको पत्रिकाले अर्को एउटा त्यस्तै खालको घटनाबारे लेखेको छ। सन् २००७ को उक्त घटनामा शिशु जन्मिएको केहीपछि उसको मृत्यु भयो तर डाक्टरविरुद्धको उजुरी सुनुवाइ नै नभइ यत्तिकै पाखा लगाइयो।

प्रतिक्रिया कस्तो छ?

बढ्दो घटनाहरूले पोर्चुगलमा आक्रोश निम्त्याएको छ। देशको स्वास्थ्य प्रणालीले कसरी काम गरिरहेको भन्ने बारे र उजुरीको सुनुवाइ प्रक्रियाबारे यसले थुप्रै प्रश्न उठाएको छ।

पोर्चुगलको चिकिस्ता संघका प्रमुख मिगेल गिमारइसले आफूले डाक्टर कारभालोलाई प्रत्यक्ष सम्पर्क गरेको गत साता प्रेस सम्मेलनमा बताएका थिए।

ती डाक्टरले अनुसन्धान जारी रहँदासम्म आफूले गर्दै आएको काम स्थगित गर्न सहमति जनाएको गिमारइसले बताए।

उक्त निकायको अनुसन्धानसम्बन्धी परिषद्ले यो साताको सुरुमा डाक्टर कारभालोलाई अनुसन्धान जारी रहेका बेला ६ महिनाका लागि निलम्बन गर्न सर्वसम्मत निर्णय गरेको थियो।

उक्त निर्णय घोषणा भएपछि दक्षिणी क्षेत्रमा रहेको मेडिकल काउन्सिलका प्रमुखले डाक्टरको लापर्बाहीबारे बलियो प्रमाण भएको र त्यसले उनीमाथि अनुशासनसम्बन्धी कारबाही गराउनसक्ने बताएका थिए। उनले आरोपित डाक्टरको निलम्बनले गर्भवती महिलालाई कुनै प्रकारले मद्दत गर्ने आशा गरेको बताए।