उदयपुर । स्वाच्छ खानेपानीको लागि उदयपुरमा पहिलो पटक रामजनकी माविले मिनिरल वाटरको प्लान्ट राखेको छ । १ न. प्रदेशको सहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा स्वच्छ खानेपानीका लागि मिनिरल वाटरको प्लान्ट राखेको हो ।

प्रदेश सरकारको ५ लाख सहयोगमा विराटनगरबाट पानी शुद्ध बनाउने मिनिरल वाटरको प्लान्ट खरिद गरी ल्याएको विद्यालयका प्रध्यानध्यापक देवनाथ चौधरीले बताए । प्ल्यान्ट जडान गरी भदौबाट आफ्ना विद्यार्थीलाई स्वच्छ खानेपानी दिन थालेको विद्यालयले उनले बताए । वि.स.ं २०१७ सालमा त्रियुगा नगरपालिका–३ मोतीगडामा स्थापना भएको उक्त विद्यालयले जिल्लामै पहिलो पटक आफ्ना विद्यार्थीलाई शुद्ध खानेपानी दिन थालोको हो ।

बालमैत्री धारा निर्माण गरी विद्यालयका करिब ७ सय विद्यार्थीलाई शुद्ध पानी वितरण गर्दै आएको प्रअ चौधरीले बताए । विद्युत्बाट चल्ने मेसिनले प्रशोधन गरेको पानी हिल्टेक ट्याङ्कीमा जम्मा भएर सिधै धारामा जाने भएकाले विद्यार्थीले जाति बेला पनि पानी प्रयोग गर्न सक्ने उनले बताए ।

मेसिनले प्रतिघण्टा २ सय ५० लिटर पानी प्रशोधन गर्न सक्ने क्षमता रहेको छ । धाराको पानी पनि वर्षायाममा भेल बाढीले धमिलो हुने भएकाले झाडापखाला, आउँ, हैजा जस्ता रोग लाग्ने र कलको पानीमा आईरन बढी भएकाले स्वास्थ्यलाई असर गर्ने गरेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष तथा त्रिनपा(३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरीले बताए । पानी खराब भएकै कारण विद्यालयका विद्यार्थीहरू समय समयमा बिरामी पर्ने गरेका थिए । यो जिल्लाको सामुदायिक विद्यालयहरू मध्ये पहिलो शुद्ध पानी खुवाउने विद्यालय भएको अध्यक्ष चौधरीले बताए । विद्यार्थीको स्वास्थ्यलाई विशेष ध्यानमा राखी जाडोमा तातो र गर्मी याममा तातो पानी खुवाउने मेसिन किन्ने योजनामा रहेको उनले बताए ।

यस विद्यालयमा जिल्लामै पहिलो पटक कक्षा ११बाट कानून विषयको पठन पाठन समेत शुरु गरिएको छ । पहिलो वर्ष कानून र शिक्षा सङ्काय लागु गरेको प्रअ चौधरीले बताए । विशेष प्राविधिक विषयलाई विद्यालयले जोड दिएको उनले बताए । बढ्दो प्याकेटका खानेकुरा (जङ्क फुड) प्रयोगलाई न्युनीकरण गर्नका लागि विद्यालयले आफ्ना विद्यार्थीहरूलाई सचेत गराएको शिक्षक दिनेशराज थापाले बताए । सकेसम्म दिउँसो खाजाको रूपमा भुटेका मकै भटमास, चिउरा, भुटिमाम जस्ता घरमा बनाएको खाने कुरा मात्रै प्रयोग गर्न विद्यार्थी र अभिभावकलाई समेत सचेत गराएको शिक्षक थापाले बताए ।

जङ्क फुडले विद्यार्थीलाई प्रत्यक्ष रूपमा असर गर्ने भएकाले यसलाई तत्काल रोक्नुपर्नेमा विद्यालय सचेत रहेको छ । प्याकेटका खाने कुराले मानव स्वास्थ्यमा नकारात्मक असर गर्ने भएकाले यस्ता खाने कुरालाई सबैले त्याग्नुपर्ने शिक्षक थापाले बताए । सबै विद्यालयले यस्ता उदाहरणीय काम गरे शिक्षा क्षेत्रमा प्रगति हुन कति पनि नलाग्ने देखिन्छ । भविष्यका कर्णधार देशको खम्बालाई कसरी स्वास्थ राख्ने र कसरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने भन्नेमा सम्बन्धित निकाय सचेत हुन जरुरी छ ।