रंङ्गेली । सहर सधैं व्यस्त हुन्छ । सहर ठाउँ अभाव हुन्छ । कङ्क्रिटका घरहरूको जङ्गल जस्तो शहरमा प्रकृतिसँग रमाउने ठाउँ हुन्न । अग्ला अग्ला घरहरूले मात्र शहरको सुन्दरता झल्काउदैनन् ।

शहरमा सुस्ताउने चौतारी हुनुपर्छ । मन बहलाउने बगैंचा हुनुपर्छ । कङ्क्रिटको जङ्गललाई जीवन्त राख्ने स्थान हो बगंैचा । शहरबासीले सधै सुस्ताउने र मन बहलाउने प्राकृतिक स्थानको अभाव महसुस गरिरहेका हुन्छन् । त्यसैले प्रत्येक शहरमा बगैंचा(पार्क) हुनु आवश्यक छ । विराटनगर महानगरपालिकामा पनि अहिले पार्क निर्माणको चरणमा रहेको छ । यहाँ पर्याप्त पार्क छैनन् । यस नगरबासी प्राकृतिक पार्कमा आफ्नो मन बहलाउन अन्य सहरमा जानुपर्ने बाध्यता रहेको छ । ‘फुर्सदको समय कटाउन मिल्ने विराटनगरमा भने जस्तो कुनै पार्क छैन ’ विराटनगरका ध्रुव बस्नेतले भने । प्रकृतिसँग रमाउन मिल्ने पार्क भएको भए इटहरी, धरान,भेडेटारतिर भौंतारिनु नपर्ने उनी बताउँछन् ।

विराटनगर महानगरपालिकामा रहेका पार्क पनि नाम मात्रका रहेका छन् । विराटनगरमा केही साना पार्क भने रहेका छन् तर ती फुर्सदको समय बिताउन पर्याप्त छैनन् । निजी स्तरमा पनि केही पार्क विराटनगरमा सञ्चालनमा रहेका छन् । त्यस्ता पार्कहरूमा छुट्टिको समयमा बालबालिकाको घुइंचो लाग्ने गर्छ । बालबालिका, युवायुवती, वृद्धहरूले समय कटाउन सक्ने पार्कको यहाँ अभाव छ । विराटनगर महानगरपालिका प्रदेश १ को राजधानी बनेको छ । यससँगै सहरमा चहलपहल पनि बढेको छ । विराटनगरमा बस्नेको सङ्ख्या पनि बढ्दै गएको छ । सहरमा जनसङ्ख्या बढ्दै जाँदा फुर्सद र साँझ विहान टहलिने ठाउँको भने सर्वथा अभाव रहेको छ । विराटनगरका सडकहरू धुलोका कारणले हिंड्न सकिने अवस्थाका छैनन् । यस्तो अवस्थामा पार्क अत्यावश्यक बनेको स्थानीय बताउँछन् ।

भौतिक विकासको क्रममा रहेको विराटनगर महानगरपालिकाले पार्क निर्माणको कार्यलाई पनि महŒवका साथ आगाडि बढाएको छ । विराटनगर महानगरपालिकाले भएका पार्कको स्तरोन्नति गर्नुका साथ नयाँ पार्क निर्माणको कामलाई पनि अगाडि बढाएको महानगरपालिकाका सामुदायिक विकाश शाखा प्रमुख पुनकुमार दाहालले बताए । विराटनगर १ मा बालबालिका लक्षित गरेर निर्माण गरिएको बालउद्यानको स्तरोन्नति गर्ने गरी महानगरपालिकाले तयारी गरेको दाहालले बताए । त्यहाँ थप्नुपर्ने सामाग्रीहरू राखेर त्यसलाई बनाइने उनले बताए । यससँगै विराटनगर–७ मा इको पार्क निर्माण गरिएको छ । विराटनगर– ७ सरस्वती टोलमा पनि स्ट्रिट पार्क बनाएको उनले जानकारी दिए ।

विराटनगर –१५ मा रहेको स्वास्थ्य चौकी पछाडि पनि वाटर फन पार्क निर्माणको चरणमा रहेको उनले बताए । यस आर्थिक वर्षमा उक्त पार्कको निर्माण सम्पन्न हुने उनले जानकारी दिए । त्यसैगरी विराटनगर महानगरपालिकाले वडासँग मिलेर पनि पार्क निर्माण गर्ने योजना यस आर्थिक वर्षबाट आगाडि सारेको छ । महानगरका कुनै पनि वडाले पार्क निर्माणको लागि स्थान छनौट गरेर प्रस्ताव ल्याए त्यसमा सहकार्य गर्न सक्ने दाहालले बताए । वडाले ल्याएको प्रस्ताव उपयुक्त भएको अवस्थामा नगरपालिकाले लागतमा ५० प्रतिशत सहयोग गर्ने सामाजिक विकास शाखा प्रमुख दाहालले बताए । त्यसका लागि विराटनगरका कुनै पनि वडाबाट प्रस्तव भने नआएको उनले बताए । महानगरले यस आर्थिक वर्षबाट यस्तो योजना आगाडि ल्याएको हो ।

त्यसैगरी विराटनगर –७ मा रहेको हरियाली पार्कको पनि स्तरोन्नति गर्ने महानगरले प्रस्ताव गरेको छ । त्यसैगरी विराटनगर महानगरपालिकाले ड्रिम प्रोजेक्टको रूपमा स्वर्गीय पूर्व प्रधानमन्त्रीहरूको इतिहाससहित सालिक राखेर पार्क निर्माण गर्ने भएको छ । जहाँ नेपालमा प्रधानमन्त्री बनेर बितिसकेकाहरूको सालिक निर्माण गरिने दाहालले बाताए । उक्त पार्क निर्माणको लागि ५० लाख बजेट विनियोजन भएको छ । त्यसैगरी विराटगर(२ मा पनि स्ट्रिट पार्क निर्माण गरिने भएको छ । विराटरात्रि माध्यामिक विद्यालय छेउबाट सरस्वती मन्दिर जाने बाटो सम्म स्ट्रिटपार्क निर्माण हुने भएको हो । त्यसैगरी ‘ए’ र ‘बि’ प्लटमा पनि पार्किङ र पार्क निर्माण हुने भएको छ ।

व्यस्त समयमा तनाव व्यवस्थापनको लागि पार्क अतिआवश्यक भएको नगरपरिषदमा अवगत भएपछि पार्क निर्माण कार्यलाई आगाडि बढाइएको दाहालले बताए । त्यसैगरी महानगरले सडकको बिचमा आइल्याडको रूपमा पार्क पनि निर्माण गरेको छ । राजवंशी चोकदेखि पश्चिम जाने सडकको बिचमा आइल्याण्डको रूपमा निर्माण गरिएको छ । त्यसले पनि पार्कको झझल्को दिने उनले बताए । त्यसैगरी चाँदनी चोकमा शिरोमणी पुस्तकालय रहेको स्थानमा पनि आइल्याडको रूपमा विकास गर्न प्रस्ताव आएको दाहालले बताए । साथै महेन्द्र मोरङ कलेज जानेबाटोमा रहेको देवकोटा स्मारकलाई पनि सानो पार्कको रूपमा विकास गर्न लागिएको उनले जानकारी दिए ।

विराटनगर महानगरभित्र निजी क्षेत्र,वडा सँगको सहकार्य र आफ्नै लागानीमा पनि धेरै भन्दा धेरै पार्क निर्माण गर्ने सोच नगरसभाले राखेको सामुदायिक विकास साखा प्रमुख पुनम दाहालले बताए । पार्क निर्माणको लागि विराटनगर महानगरपालिकाले यस आर्थिक वर्षमा ५ करोड विनियोजन गरेको छ ।