यासोक / हिमाल यातायात सङ्घले चाडपर्वमा भाडा नबढाउने निर्णय गरेको छ ।
बिहीबार पाँचथरको कुम्मायक गाउँपालिकाको कार्यालयमा जनप्रतिनिधि र व्यवसायीको बैठकले यस्तो निणर्य गरेको हो । चाडपर्वमा यात्रुहरू ठगिने भएको भन्दै कुम्मायक गाउँपालिकाले यातायात व्यवसायीसँग छलफलअघि बढाएको थियो ।

उक्त बैठकले ७ वटा विभिन्न निर्णय पारित गरेको छ । लामो र छोटो दूरीका सवारी साधनले पुरानै भाडा दर लिनुपर्ने, काउण्टर सवारी साधनमा देखिने गरी भाडादर टाँस गर्नुपर्ने, विषेश अवस्थामा मात्रै रिजर्भमा जान पाउने विषयमा सहमति बनेको छ ।
उक्त निर्णय उल्लङ्घन गरे कानुन बमोजीम कारबाही हुने निर्णयमा उल्लेख छ ।

त्यस्तै चाडपर्वमा उकृष्ट सेवा दिने सवारी चालकलाई सम्मानसहित पुरस्कृत गर्ने गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भट्टराईले बताए । गाउँपालिकाबाट लामो दूरीमा झापा, मोरङ, सुनसरी र छोटो दूरीमा यासोक, फिदिम र इलामसम्म यातायात सञ्चालन हुँदै आएका छन् ।