इनरुवा/ इनरुवामा सञ्चालनमा रहेका अधिकांश मासु पसल अयोग्य रहेको पाइएको छ ।

इनरुवा नगरपालिकासहित सरोकारवाला टोलीको अनुगमनका क्रममा अधिकांश पासु पसल अयोग्य रहेको पाइएको हो ।

उपप्रमुख जमुना गौतम पोखरेलसहितको टोलीले गरेको अनुगमनका क्रममा मासु पसलहरू फोहोर र अव्यवस्थित रहेको फेला पारेको हो ।

कुखुरा र खसीको मासु एकै ठाउँमा बेच्न राखिएको, सबैजसो मासु पसलेले फ्रिज प्रयोगमा नल्याएको, झिँगा भन्केको र सरसफाइमा ध्यान नदिने गरेको भेटिएको उपप्रमुख पोखरेलले बताइन् । दर्जनबढी मासु पसलहरूमा अनुगमन गरिएको बताउँदै टोलीले गुद्रीमा सञ्चालित मासु पसल फोहोर र बढी अव्यवस्थित पाइएको जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका प्रमुख खाद्य निरीक्षक विक्रम लिम्बूले मासु पसलेहरूलाई सरसफाइमा ध्यान दिन सचेत गराइएको बताए । नियमित अनुगमन जारी रहने बताएका लिम्बूले चाडबाडमा स्वस्थ र ताजा मासु मात्रै उपभोगमा ल्याउन सर्वसाधारणमा अनुरोधसमेत गरेका छन् ।