धरान । वराह ग्रुपले आफ्नो २५ औं वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम गरी रजत महोत्सव मनाउँदै छ ।

आज धरान ८ को सभागृहमा गहना प्रदर्शनीसहित रक्तदान कार्यक्रम, कृषिजन्य उत्पादनको प्रदर्शनीसहित रजत महोत्सव मनाउन लागेको हो । रक्तदान कार्यक्रमको उद्घाटन प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले गरेका छन् । उद्घाटन गर्दै उनले धरानबाट व्यापारिक सेवा शुरु गरेको वराह ग्रुपले अहिले विश्वस्तरमा पहिचान बनाएको बताए ।

सभागृहको अगाडि हीराको प्रदर्शनी, गहना प्रदर्शनी, कृषिजन्य उत्पादनको प्रदर्शनीलगायत ग्रुप अन्तर्गत रहेका २४ वटा व्यवसायिक प्रतिष्ठानले आआफ्नो स्टल राखेको प्रदेश १ प्रमुख मानबहादुर दियालीले बताए । त्यस्तै २५ औं वार्षिकोत्सवको उद्घाटन संघीयका उद्योग मन्त्री मात्रिका यादवले गर्ने कार्यक्रम छ । वार्षिकोत्सवमा वर्षभरि १० हजार रुपैयाँभन्दा बढी खरिद गर्ने ग्राहकलाई उपहार तथा भाग्यशाली ग्राहकलाई इटालियन कम्पनीको भेस्पा स्कुटर प्रदान गरिनेछ ।

त्यस्तै वर्षभरि सबैभन्दा बढी गहना खरिद गर्ने ग्राहकलाई गोल्ड मेडलले पुरस्कृत गरिने कार्यक्रमको मूल आयोजक समितिका संयोजक सोराज लामिछानेले बताए । साथै तीन जना पत्रकारलगायत सम्मानित गरिने कार्यक्रम रहेको बरिष्ठ प्रशासकीय अधिकृत गंगा कालिकोटेले जानकारी दिए । त्यस्तै विभिन्न कलाकारहरुले सांगीतिक तथा गहना प्रदर्शनीसमेत गर्ने कार्यक्रम रहेको छ ।