भण्टाबारी/ सीमावर्ती भारतीय बजारबाट अवैध रूपमा नेपाल भित्र्याउने विभिन्न सामान सशस्त्र प्रहरीले बरामद गर्ने क्रम बढेको छ । चाडपर्व नजिकिँदै जाँदा भारतीय बजारमा किनमेल गर्न जाने नेपाली ग्राहकको सङ्ख्यामा बढ्दो छ ।
केही घरायसी प्रयोजनका लागि सरसामान किनमेल गर्न भारतीय बजार जाने गरेका छन् भने धेरै ग्राहक बनेर व्यापारिक प्रयोजनका लागि जाने गरेका छन् ।
घरायसी सामान किनमेल गर्न भारतीय बजार जाने ग्राहकलाई सीमामा तैनाथ सुरक्षाकर्मीले केही सहजता दिएको मौकाको फाइदा उठाएर व्यापारीहरूले भन्सार छलेर लाखौंको सामान नेपाल भित्र्याउने गरेका छन् । भारतीय बजारमा सस्तोमा किन्ने र नेपाली बजारमा महँगोमा बेच्ने उद्देश्यले व्यापारीहरूले विभिन्न सामान तस्करी गराउँदै आएको पाइएको छ । भारतीय बजारमा किनमेल गरे पनि व्यापारीहरू आफै भने सामान वारि पारि गर्दैनन् ।
सीमावर्ती क्षेत्रका स्थानीय महिला, बालबालिका तथा युवावर्गलाई सामान वारिपारि गराउन व्यापारीहरूले प्रयोग गर्दै आएका छन् । भारतीय बजारबाट सामान नेपाल भिœयाए बापत उनीहरूले एकपटकमा २०० देखि ३०० सम्म सामानअनुसारको पैसा व्यापारीबाट पाउँछन् । एकपटकमा थोरै मात्रामा उनीहरूले भारतीय बजारबाट भन्सार छलेर सामान नेपालतर्फ भिœयाउने गरे पनि सामान्य चेकजाँचबाहेक सीमामा तैनाथ सुरक्षाकर्मीले खासै वास्ता गर्दैनन् ।
पटक–पटक एउटै व्यक्तिले सामान ओसार–पसार गरेको पाएपछि प्रहरीले भन्सार कटाउनभन्दा उनीहरू घरायसी प्रयोजनको लागि भन्दै प्रहरीसँगै विवाद गर्न थाल्छन् । यसरी दिनहुुँ भारतीय बजारबाट ल्याइएको विभिन्न सामान सीमावर्ती क्षेत्रको पसल वा कसैको घरमा स्टक गरी राख्ने र रातको समयमा व्यापारीहरूले गन्तव्यसम्म पु¥याउने गरेका छन् । सामान स्टक गरी राखेको सुराकी पाएपछि प्रहरीले बरामद गर्ने गरेको छ ।
यसै क्रममा सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ५ लाख ८९ हजार बराबरको कपडा बरामद गरेको छ । इन्स्पेक्टर प्रेमसिंह विष्टका अनुसार भारतीय बजारबाट भन्सार छलेर ल्याई बाहिर पठाउन तयारी अवस्थामा राखेको विभिन्न प्रकारका कपडा शनिबार राति बरामद गरिएको हो ।
डेढ महिनाको अवधिमा २७ लाख २२ हजार ८ सय १५ रुपैयाँ बराबरको तस्करीको सामान बरामद गरी कानूनी कारबाहीको लागि सुनसरी भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीले जनाएको छ । जनशक्ति अपुग भए पनि भारतीय प्रहरीसँग समेत समन्वय गरिएको र सीमामा निगरानी तथा गस्ती बढाइएको हुँदा चाडपर्वको समयमा तस्करीका सामानहरू बरामद हुने क्रम बढेको इन्स्पेक्टर विष्टले बताए । खुला सीमाको कारण चोरीपैठारी पूर्ण रूपमा नियन्त्रण गर्न चुनौति रहेको सीमामा तैनाथ सुरक्षाकर्मी बताउँछन् ।