इटहरी/ आइतबारबाट दशैंको प्रारम्भ भए पनि व्यापारको क्षेत्रमा भने यो पटक सोचेअनुरूपको व्यवसाय नभएकोप्रति व्यवसायीहरू निराश बनेका छन् ।

फुटपाथ व्यवसायीहरू भने मालामाल बनेका छन् । फुटपाथमा लत्ताकपडा किन्नेहरूको भीडभाड रहे पनि सटरमा व्यवसाय गर्दै आएकाहरू निराश बनेका हुन् । तीन दिनदेखि परेको अविरल वर्षाका कारण अहिले व्यापारीहरू मारमा परेका छन् । इटहरीमा लामो समयदेखि व्यापार गर्दै आएका इटहरीका कपडा व्यवसायी किरण न्यौपानेले दशैं लागिसके पनि किनमेल शुरु नभएको बताए ।

व्यापारीहरूका अनुसार अघिल्ला वर्ष यतिबेलासम्म बजार निकै भीडभाड भइसक्ने इटहरीको डिपार्टमेण्ट स्टोरलगायत इटहरीको मुख्य होलसेल बजार यसपालि भने मन्द छ । अहिले व्यवासाय राम्ररी नचल्दा लाखौं रुपैयाँ लगानी गरेर सञ्चालनमा ल्याएका कपडा पसलहरू अहिले हाई काढ्दै बस्न बाध्य भएको इटहरी रेडिमेडका मुन्ना साह बताउँछन् । उनी भन्छन्, ‘यो वर्ष जस्तो अवस्था अहिलेसम्म कहिल्यै आएको थिएन ।’

तीन दिनदेखि लगातार परेको वर्षाको कारण पनि किनमेल गर्नेहरूको सङ्ख्या बजारमा घटेको बताउँछन् तरहरा फेसनका सञ्चालक अर्जुन बस्नेत । अहिले तरहरा बजारतिर पनि व्यापार पोहोरको भन्दा धेरै घटेको उनको भनाइ छ । ‘दशैंको मुखमा बजारमा किनमेल गर्ने समयमा पानी पर्दा समस्या भयो’ उनी भन्छन्, ‘अहिले बजारमा ग्राहकहरूको चहल–पहल देखिँदैन ।’ तरहरामा सुन पसल डुबेको कारण पनि मन्दी भएको उनको बुझाइ छ ।

फुटपाथमा भने भीडभाड
दशैं शुरु भएसँगै पसलहरूमा भन्दा फुटपाथमा किनमेल गर्नेहरूको घुइँचो लागेको छ । दशैंको लागि नयाँ लुगा, लत्ताकपडा र सरसामान किन्नेहरू फुटपाथमा भने देखिएको छ । इटहरीका फुटपाथहरूमा भने सर्वसाधारणहरू चहल–पहल शुरु भएको छ । उपभोक्ताहरूको घुइँचो लागे पनि अधिकांश व्यापारी भने विगतका वर्षहरूमा भन्दा व्यापार निकै घटेको बताउँछन् ।

फेन्सी पसलहरूमा महँगो भएको कारण पनि फुटपाथमा बजार आउनेहरू बढेको फुटपाथका व्यवासायीहरूको तर्क छ । विगत तीन वर्षदेखि इटहरीमा होलसेल व्यापार गर्दै आएका रविन महतोले भने फुटपाथमा सबैखाले पसल फस्टाएपछि सटर र स्टल भाडामा लिएर व्यापार गर्नेहरू मर्कामा परेको बताए ।