भद्रपुर/ एक महिनायता झापाको भद्रपुरस्थित जिल्ला कारागारमा रहेका कैदी तथा थुनुवाहरूमा चिलाउने रोग (दाद) को महामारी फैलिएको छ ।

खचाखचरूपमा कैदी तथा थुनुवा बस्नुपर्ने बाध्यताले गर्दा यो महामारीको रूपमा फैलिएको पाइएको छ । ११ सयभन्दा बढी थुनुवा र कैदी रहेकामध्ये आधाभन्दा बढीमा दादको समस्या देखिएको कारागारले जनाएको छ । अधिकांशको गुप्ताङ्गलगायतका ठाउँमा दाद आएको स्वास्थ्यकर्मीको भनाइ छ । एकमहिनायता फैलिएको महामारी नियन्त्रणमा आउन नसकेको जनाइएको छ ।

कारागारका सिनियर अहेव बलदेव साहका अनुसार ५ सयभन्दा बढीलाई औषधि तथा मलहम दिइएको छ तर पनि दाद नियन्त्रणमा आउन नसकेको बताए । दाद आएको मानिसले सरसफाइमा विशेष ध्यान दिनुपर्ने र सबै सामान आफूलेमात्र चलाउनु पर्नेमा यस्तो नहुँदा समस्या भएको उनले बताए । ‘मलहम लगाएपछि लगाउञ्जेल ठीक हुन्छ तर फेरि आइहाल्छ, यसले हामीलाई हैरान बनाएको छ’–साहले भने ।

कारागारभित्र छालाको रोग दादको समस्या भएको थाहा पाएपछि छाला रोगविशेषज्ञ ल्याएर नै जाँच तथा औषधि प्रदान गरिएको जेलर राजेन्द्र निरौलाले बताए । जाँच र औषधि प्रयोग भए पनि यो नियन्त्रणमा आउन नसकेको उनले जनाए ।

गर्मीका कारण दैनिक ५० देखि ६० जनासम्म बिरामी पर्ने गरेको र अहिले बिरामीलाई ओसार्नका लागि गाडीको व्यवस्थापन गरिएको समेत कारागारले जनाएको छ । एकपटकमा २० जनासम्मलाई लैजान मिल्ने गरी गाडीको व्यवस्थापन गरिएको कारागार प्रशासनले जनाएको छ । दाद धरै चिलाउने अनि अप्ठ्यारो ठाउँमा देखापर्ने छालाको सङ्क्रमण भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।