धरान ।  बराह ग्रुपले रजत महोत्सवको अवसरमा हीराको कारोबार थाल्ने भएको छ ।
सुनचाँदीबाट विश्वास कमाएको वराह ग्रुपले २५ औं वर्ष प्रवेशसँगै हीराको कारोबार थाल्ने अध्यक्ष शिव लामिछानेले शुक्रबारको पत्रकार सम्मेलनमा बताए । माइन्सबाट उत्पादित हीरा क्यानाडा र रसियाबाट आयत गरेर बिक्री प्रारम्भ गरिन लागिएको उनले बताए । वराहले धरान–८ सभागृहमा हीरासहितको १६ वटा व्यावसायिक स्टल राख्ने भएको छ ।

जसमा सुनचाँदी, हीरालगायतका विभिन्न स्टलहरू रहनेछन् । २०५२ साल भदौं ५ गतेदेखि सुनचाँदीबाट थालनी भएको व्यवसाय हाल नुनदेखि सुनसम्म कारोबार गर्दै आइरहेको छ । यस वर्षबाट ग्रुपले हीराको कारोबार गर्दै व्यवसायमा नयाँ फड्को मार्ने अध्यक्ष लामिछानेले बताए । ‘हामी केही नयाँ गर्ने सोच बनाइरहेका छौं, व्यापारमा नयाँ–नयाँ प्रयोगहरू गर्न चाहिरहेका छौं,’ उनले पत्रकार सम्मेलनमा भने, ‘यो कारोबार धरानको लागि मात्रै नभई नेपालकै लागि नयाँ हुनेछ ।’

बराहले रजत महोत्सवको अवसरमा शनिबारदेखि नै बराहका शाखाहरूबाट हीराको कारोबार थाल्ने भएको हो । डिभाइन कम्पनीसँगको कोल्याब्रेटमा यो कारोबारलाई अगाडि बढाउन लागेको हो । रजत महोत्सवकै अवसरमा परिकल्पनाकार इन्द्रबहादुर लामिछानेको स्मृतिमा उनको सङ्घर्षको कथा रहेको ‘निश्चित’ नामक जीवनीपरक पुस्तकसमेत लोकार्पण गरिन लागिएको छ । जसमा लामिछानेले बालक अवस्थादेखि गरेको जीवनका दुःखसुखलाई समेटिएको छ । उनलाई ‘निश्चित’ नामलेसमेत चिनिने गरिएकाले पुस्तकको नाम नै निश्चित राखिएको छोरासमेत रहेका शिव लामिछानेले बताए । चार वर्षको मेहनतपछि पुस्तक प्रकाशित भएको छ ।

सधैंका वर्षझैं यसवर्ष पनि स्थापना दिवसमा सामाजिक कार्यअन्तर्गत रक्तदान कार्यक्रमलाई निरन्तरता दिने ग्रुपका प्रदेश १ प्रमुख मानबहादुर दियालीले बताए । उनका अनुसार वर्षभरि १० हजार रुपैयाँ भन्दा माथि खरिद गर्ने सेवाग्राहीलाई पनि विभिन्न उपहार प्रदान गरिनेछ भने लक्की ड्रमार्फत् एक जना भाग्यशाली ग्राहकलाई इटालियन कम्पनी भेस्पाको स्कुटी प्रदान गरिन लागिएको छ । यो चालू आर्थिक वर्षमा खरिद गर्ने ग्राहकको लागि भने अर्को वर्ष यमाहा कम्पनीको बाइक राखिएको उनले बताए ।

बराहमा हाल १७ हजार २ सय ४ जना नियमित ग्राहक छन् । जसले कार्ड प्रयोग गर्दै आइरहेका छन् । यस्तै वर्षभरि नियमित सुन खरिद गर्ने एक जना ग्राहकलाई स्वर्ण पदकबाट पुरस्कृत गरिने भएको छ । महोत्सवको अवसरमा राष्ट्रिय कलाकारहरूबाट मनोरञ्जनसमेत प्रदान गरिने कार्यक्रम रहेको छ । त्यसक्रममा गहना प्रदर्शनी पनि गरिने भएको छ । बराह ग्रुपमा हाल २४ वटा कम्पनी सञ्चालित रहेका छन् । बराहले धनकुटाको नाम्जेमा होमस्टेसमेत सञ्चालनसमेत गर्न लागेको छ ।