इनरुवा । गढी गाउँपालिका–२ औराबनीमा सञ्चालित सीजी फुड्स प्रालिको कामकारबाहीप्रति गढी गाउँपालिकाको कार्यालयले असन्तुष्टि व्यक्त गरेको छ ।
उद्योगले स्थानीय तहसँग समन्वय नगरी सञ्चालनमा ल्याएको भन्दै गाउँपालिका रुष्ट देखिएको हो । उद्योग सञ्चालनका क्रममा भएका सम्झौता पालना नभएको गाउँपालिकाको कार्यालयले जनाएको छ । स्थानीय सरकारसँग भएको सम्झौता पालना गर्न आनाकानी गरिएकाले उद्योग विरुद्ध कानुनी प्रक्रिया अघि बढाउने सम्मको तयारीमा गाउँपालिका जुटेको छ ।
गाउँपालिकाको कार्यालयले दुई पक्षबीच भएको सहमति कार्यान्वयनमा नल्याइनुलाई उद्योगले अटेर गरेको निष्कर्ष निकालेको छ । यसैबीच असन्तुष्टिका स्वरहरू बढ्न थालेपछि गाउँपालिका उपाध्यक्ष राजकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराई, वडाध्यक्ष अरुणकुमार चौधरीसहितको टोलीले उद्योगको स्थलगत अनुगमनसमेत गरेको छ ।
गाउँपालिका उपाध्यक्ष राजकुमारी चौधरीको नेतृत्वमा उद्योग पुगेको टोलीले कामदारको अवस्था, तलब सुविधा, उत्पादन प्रक्रिया, सरसफाइका अलावा कर्मचारी भर्ना प्रक्रियालगायतको बारेमा जानकारी बटुलेको थियो । उपाध्यक्ष चौधरीले जनगुनासो बढेसँगै उद्योग प्रतिको विश्वसनीयतामा समेत प्रश्न खडा हुन पुगेकाले अनुगमन गरिएको बताइन् । वडा नम्बर २ का अध्यक्ष अरुणकुमार चौधरीको अध्यक्षतामा उद्योगका प्रतिनिधि सहित बसेको बैठकका क्रममा आपसी सहमतिमा अघि बढ्ने दुई पक्षबीचकोे सहमति उद्योगले कार्यान्वयनमा नल्याएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले बताए ।
उता सीजी फ्रुड्स औरावनीका प्रशासन प्रबन्धक सञ्जय भट्टराईले गाउँपालिकाले भने जस्तो अवस्था नरहेको बताए । भट्टराईले गाउँपालिकासँग भएको सहमति अनुरूप नै आफूहरू अघि बढिरहेको बताए । केही कामहरू भने प्रक्रियागत चरणमा रहेको उनले बताए ।