धनकुटा/ स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य बस्तु बिक्रि गर्दै आएका तथा बिना इजाजत ब्यबशाय संचालन गरिरहेकाहरु माथि कार्वाही सुरु गरेको छ ।

स्थानिय प्रशासनले धनकुटा जिल्लाका नगर तथा गाउँपालिकाका विभिन्न स्थानका बजारहरुमा छड्के अनुगमनलाई तिब्र पारेको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, कर कार्यालय ,घरेलु तथा साना उधोग कार्यालय,उद्योग बाणिज्य संघ, बजार व्यवस्थापन समिति, उपभोक्ताका प्रतिनिधिहरुको संयूक्त अनुगमन टोलीले चाडवार्डको मौकामा उपभोक्ताहरु ठगिन सक्ने भन्दै दैनिक जसो बजार अनुगमन गरिरहेको जिल्ला प्रसासन कार्यालयले जनाएको छ ।

टोलीले साँगुरीगढी गाउँपालिकाको भेडेटार बजार, धनकुटा नगरपालिकाको हिले बजार र धनकुटा बजारमा खाद्यान्न तथा मदिरा एकै ठाउँमा राखेर बिक्रि गर्दै आएका केहि पसल ,औषधि बिक्रिका लागि अनुमति नपाएका ब्यक्तिद्धारा संचालित मेडिकल फार्मेसी,म्याद सकिएका फेन्सी सामान, सुनचाँदी व्यावसाय, कपडा पसलमा अनुगम गरेको जनाएको छ । अनुगमनका क्रममा ब्याबसाय संचालनका लागि इजाजत नलिएका तथा करको दायरा भन्दा बाहिर रहेका ब्यापारीहरुलाई भने प्रशासनले सचेत गराएर छाडिएको प्रशासकिय अधिकृत सुधिर साफिले बताए ।

अनुगमनका क्रममा ग्रामिण क्षेत्रका अधिकाशं बजारमा म्यादगुज्रन लागेका खाद्य तथा पेय पदार्थ पठाउने गरिएको पाइएको छ । भेडेटार बजार, हिले बजार र धनकुटा बजारका करिब ७ दर्जन किराना पसल तथा होटलबाट उपभोग अबधि सकिएका बिस्कुट, चाउचाउ, पेय पदार्थ,फेन्सी पसलहरुबाट उपभोग्य अबधि सकिएका पाउडर र विभिन्न किसिमका क्रिमहरु जफत गरिएको छ । प्रशासनको मौसमी अनुगमन नियमित हुन नसक्दा आफूहरु ठगिनेक्रम नरोकिएको उपभोक्ताहरुको गुनासो छ ।