धरान/ डेढ सातायता व्यापार ठप्प पारेर आन्दोलित बनेका धरानका माछा व्यापारीले सोमबारबाट पसल सञ्चालनमा ल्याएका छन् ।

धरान उपमहानगरपालिकामा आइतबार माछा व्यापारीहरूबीच सहमति बनेपछि माछा पसल खुलेको हो । धरान बाहिरबाट ताजा माछाको नाममा डुलाएर बिक्री गरेको विरोधमा धरानका माछा व्यापारीहरूले विरोधस्वरूप माछा पसल बन्द गरेर आन्दोलित बनेका थिए । माछा व्यापारीले धरान उपमहानगरपालिकामा व्यवस्थापन गर्नुपर्ने भन्दै निवेदन दिएपछि सोही निवेदनको आधारमा दुई पक्षका व्यापारीलाई राखेर छलफल गरिएको हो ।

छलफलका क्रममा एक बुँदे सहमति बनेको छ । सहमतिअनुसार धरान बाहिरबाट डुलाएर बिक्री गर्ने माछा व्यापारीहरूले भानुचौक, माछाभौडी, सदन स्कुल, जाल्पारोड, चिनियाँ चौक क्षेत्रमा ल्याएर बिक्री वितरण नगर्ने सहमति बनेको धरान मासु व्यवसायी सङ्घका अध्यक्ष मदन तामाङले बताए । लामो समय माछा व्यापार गर्दै आएको क्षेत्रमा ताजा माछाको नाममा डुलाएर नबेच्ने सहमति बनेपछि माछा पसल सञ्चालनमा आएको उनले बताए ।

छलफलका क्रममा धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार पोखरेल, ३ नम्बर वडाध्यक्ष आशाकुमार श्रेष्ठलगायतको उपस्थितिमा छलफल भएको थियो । धरानमा दैनिक १ हजार केजी माछा बिक्री हुँदै आइरहेको छ । धरानमा झण्डै ४८ परिवार माछा व्यवसायबाट आश्रित छन् ।