धरान/ धरान बाहिरका माछा व्यापारीले गाडीमा माछा ल्याई बिक्री गरेको विरोधमा धरानका माछा व्यापारीहरूले एकसातादेखि माछा बिक्री ठप्प पारेका छन् ।
बाहिरका माछा व्यापारीहरूले गाडीमा माछा घुमाएका कारण बिक्री नभएको भन्दै व्यवसायीहरूले उनीहरूको विरोधमा आन्दोलित बनेका हुन् । अहिले धरानका माछा पसलहरू पूर्णरूपमा सुनसान छन् । एक सातादेखि माछा बिक्री ठप्प पारेर आन्दोलित बनेका छन् । ‘माछा किन्न आएको यहाँ त माछै छैन, बजारै सुनसान छ’ धरान–३ स्थित भौंडीमा माछा किन्न पुगेका सेवाग्राही देवेन्द्र दाहालले भने । उनीजस्ता दैनिक सयौं सेवाग्राहीहरू फर्किने गरेका छन् ।
धरानमा दैनिक १ हजार केजी माछा खपत हुँदै आएको छ । तर, एक सातायता माछा व्यापार सुनसान बनेको हो । धरान बाहिरमा माछा व्यापारीले गाडीमा माइकिङ गर्दै ताजा माछा भन्दै बिक्री गरेका कारण आफूहरू मारमा परेको माछा व्यवसायी देव साहले बताए । ‘हामीले बेच्ने माछा चाहिँ सडेगलेको हो ?’ उनले आक्रोस पोखे, ‘हामी पनि ताजा माछा नै बेच्दै आएका छौं ।’
माइकिङ गरेर घरघरमा माछा बिक्री गर्ने गरेका कारण धरानका व्यवसायी समस्यामा परेको उनको भनाइ छ । उनका अनुसार धरानमा २५ वटा भन्दा बढी माछा पसल छन् । भौंडीमा मात्रै १२ वटा पसल सञ्चालनमा छन् । त्यसबाहेक अन्य क्षेत्रमा पनि माछा बिक्री गरिँदै आएको छ । जसमा झण्डै ४० परिवारहरू आश्रित छन् । ‘हाम्रै पसलका अगाडि माछा ल्याएर बेचिदिँदा झिँगा धपाएर बस्नुपरेको छ,’ उनले भने, ‘त्यहीँ कारण हामी आन्दोलनमा उत्रेका छौं ।’
धरानमा दैनिक ३ लाख ५० हजार रुपैयाँ बराबरको माछा बिक्री हुने गरेको छ । झापा, मोरङ र सुनसरीका विभिन्न क्षेत्रबाट माछा ल्याएर व्यवसायीले बिक्री गर्दै आइरहेका छन् । यस विषयमा धरान उपमहानगरपालिकालाईसमेत ध्यानाकर्षण गराइएको मासु व्यवसायी सङ्घ धरानका अध्यक्ष मदन तामाङले जानकारी दिए । नागरिकले घरघरमा सुविधा पाए पनि पुस्तौदेखि त्यही व्यवसाय गर्दै आएका व्यापारीहरूको जीविकोपार्जनमा समस्या आएको उनले बताए ।
माछा व्यवसायीहरूबाट निवेदन आएको धरान उपहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले बताए । गाडीमा बेच्नेहरूले कर तिरेर नगरबासीलाई जिउँदो माछा खुवाइरहेकाले यस विषयमा दुवै पक्षबीच छलफल गरिने बताए । यो विषयमा छलफल गर्नका लागि आइतबार दुवै पक्षलाई बोलाइएको उनले बताए । धरानका माछा व्यवसायीहरूले पनि उपभोक्ताहरूलाई ताजा माछा घरघरमा बिक्री गर्ने वातावरण बनाए नगरपालिकाले रोकटोक नगर्ने उनले बताए ।