पार्टी एकीकरण पक्रिया शुरु भएको लामो समयपछि धरान उपमहानगरपालिकामा नेकपाले नगर कमिटी गठन गरेको छ । पूर्व एमाले र माओवादीबीच ६० र ४० को भागवण्डा अनुसार नेकपाको धरान नगर कमिटीमा अध्यक्ष, सचिवसहित १०१ जनाको नगर कमिटी गठन भएको छ । कमिटी गठन भए पनि गठन प्रक्रियाकै विषयलाई लिएर धरानमा नेकपा आन्तरिक विवादमा फँसेको छ । जसको परिणम स्वरूप गठन भएको कमिटीको सपथ ग्रहण पनि हुन सकेको छैन । कमिटी गठनसँगै सपथ ग्रहण हुन नसक्नाले औपचारिक रूपमा नेकपाले कार्यक्रम गर्न सकिरहेको छैन । यतिबेला देशैभरि रिक्त रहेको पदका लागि निर्वाचनको मिति निर्वाचन आयोगले तोकेको छ । धरानमा नगरप्रमुख र ७ नम्बर वडामा वडाध्यक्ष गरी दुईवटा सिट रिक्त छन् । मेयर उमेद्वारीका लागि नेकपा र काङ्ग्रेसमा आकाङ्क्षीहरू देखिएका छन् । धरानमा नेकपाको निर्वाचन तयारी, नेकपाको आन्तरिक विवाद तथा धरानको समसामयिक विषयमा नगर कमिटीका अध्यक्ष नारायणप्रसाद सुवेदीसँग ब्लागष्टकर्मी  डम्बर कार्कीले  गरेको कुराकानीको सार :

 उपनिर्वाचनको कुरा आयो, अब चुनावको तयारी कसरी गरिरहनु भएको छ ?

– लामो समयदेखि कमिटीविहीन हुँदा छलफल, गोष्ठी जस्ता कार्यक्रमहरू हुन नसकिरहेको अवस्थामा अहिले नगर कमिटी गठन भएको छ । तथापि केही सानो आन्तरिक विवादका कारण सपथ ग्रहण हुन सकिरहेको छैन । जसले गर्दा औपाचारिक कार्यक्रमहरू हुन सकेका छैनन् । तर २ वर्षदेखि स्थानीय तह, सङ्घ र प्रदेश सञ्चालन गरिरहेको नेकपा नै भएकाले निश्चित रूपमा हामीले हाम्रो कमिटीको प्रणालीअन्तर्गत रहेर कुनै पनि कुरा जनस्तरमा लान नसकेका कारण कार्यकर्ताहरू अलमलमा परेको जस्तो देखियो । भर्खरै मात्र निर्वाचन कै लागि नै नगरस्तरीय कार्यकता भेला गरेका छौँ र एउटा वडामा वडास्तरीय भेलामा पनि सम्पन्न गरेका छौँ ।

धरानमा पूर्व एमाले र माओवादीको सहकार्य जुन रूपमा हुनुपर्ने हो त्यो हुन सकेको छैन भनिन्छ नि ?

– सहकार्य एकदम राम्रो भइरहेको छ । मुख्यतया सपथग्रहणको विषयमा चाहिँ पूर्व माओवादीका केही साथीहरूमा अलिकति समस्या भएका कारण सपथ ग्रहण रोकिएको छ । हामीसँग समय थोरै छ । विभिन्न चाड पर्वहरू पनि आउँदैछन् । त्यसले चुनाव प्रचार प्रसारमा केहीे असर पार्ने भएकाले सपथ ग्रहणलाई थाती राखेर चुनावकै लागि भनेर नगरस्तरीय कार्यकता भेला गरेका छौँ र एउटा वडामा वडा स्तरीय भेला पनि सम्पन्न गरेका छौँ ।

विवाद के हो ?

– कम्युनिष्ट पार्टी भनेको जनवादी सिद्धान्तमा चल्नुपर्छ, जनवाद भनेको छलफल हो । हामी तल्लो तहमा छलफल गरेर माथि पठाउँदा कतिपय कुरामा माथिल्लो तहको मूल्याङ्कन फरक हुन सक्छ । व्यक्ति कमिटीको मातहत रहनुपर्छ, तल्लो कमिटी माथिल्लो कमिटीको मातहत रहनुपर्छ । माथिल्लो कमिटी त्यसभन्दा माथिल्लो कमिटीको मातहत रहन्छ । सङ्गठन त्यसरी चल्छ । हामीले गरेको निर्णय नै पूर्ण हो माथिल्लो तहलाई मान्दैनौँ भन्ने हो भने चेनअफ कमाण्ड नै तोडिने भयो । पूर्व माओवादीका साथीहरूमा सिफरिस गरेका दुईजना साथीहरू कमिटीभित्र परेनन् वहाँहरूको नाम फेरबदल भएको हो, खासै ठूलो समस्या त होइन ।

 आफ्नो गुटका मानिसहरू कमिटीमा नआएको भन्ने समस्या हो ?

– गुट भन्दा पनि व्यक्तिगत रूपमा असन्तुष्टि हो कि भन्ने देखिएको छ । ठूलो सङ्ख्यामा भएको भए भन्न मान्न सकिन्थ्यो होला तर दुई जनाको नाम कमिटीभित्र नआएको कुरो हो, त्यसैले त्यो एउटा सानो असन्तुष्टि मात्र हो ।

अहिले बजारमा काङ्ग्रेसले गरिरहेको दाबीलाई नेकपाले कसरी हेरेको छ ?

– काङ्ग्रेसले पहिला पनि हामी जित्छौँ भनेरै चुनाव लडेको हो । अहिले पनि दाबी गरेको छ । कसैले पनि दाबी गर्नु स्वाभाविक नै हो । तर, मत परिणामले हामीलाई जिताउँछ भन्नेमा हामी विश्वस्त छौँ, किनभने हामीले काम पनि गरिरहेका छौँ । तर हामीले गरेका कामहरू तोडमोड गरेर बङ्ग्याएर काङ्ग्रेसले प्रचार–प्रसार गरिरहेको छ । अहिलेसम्म हामी चुप लागेर बस्यौँ । अब निर्वाचन आएको छ, हामी चुपलागेर बस्ने अवस्था रहँदैन । हामी प्रमाणसहित जनस्तरमा जान्छौँ । त्यसको खण्डन हुन्छ अनि काङ्ग्रेस कसरी कुन धरातलमा टिक्छ भन्ने त्यतिखेर नै थाहा हुन्छ ।

 जसरी नगर कमिटी भागवण्डामार्फत् आयो, चुनावी तालमेल पनि त्यसरी नै हुन्छ त ?

– होइन त्यसरी आउँदैन । अब एक भइसकेका छौँ । जो भए पनि नेकपाको उम्मेदवारी आउँछ त्यसलाई स्वीकार गर्नुपर्छ । पूर्व एमाले माआवादी भनेर भागवण्डा हँुदैन । अब पनि उपमेयर तेरो छ मेयर मलाई दे भन्ने हो भने एकीकरणको औचित्य रहँदैन ।

 कम्युनिष्टले एकछत्र जित्दै आएको धरानमा राज्यबाट लगानी शून्य छ, जनस्तरबाट मात्रै काम भएका छन्, कम्युनिष्टले केन्द्र लेबलमा आफ्नो हैसियत देखाउन नसकेको हो ?

– धरानमा काम नभएको भन्न मिल्दैन तर जनस्तरबाट अलि बढी काम भएको सत्य हो । केन्द्र सरकारबाट आउने महŒवपूर्ण योजनाहरू आउन सकेका छैनन् । तर, पछिल्लो समय पार्कबाट खानेपानी हुँदै एयरपोर्ट सम्म जोडिँदा वास्तवमा हामी विकास निर्माणमा अलि बढी राजनीतिकरण गरिरहेका छौँ । विशेष गरी सत्ताबाहिर जति पनि राजनीतिक दलहरू छन् । वहाँहरूले अनर्गल कुराहरू बाहिर राख्ने गरेका छन् । जस्तो खानेपानीकै विषयलाई हेर्दा पनि भ्रष्टाचार भयो भनेर प्रचार गरेका छन् । भ्रष्टाचार भएको हो भने अख्तीयार जाने की कार्यवाहकलाई ज्ञापनपत्र बुझाउने ? उपमहानगरपालिकाले भ्रष्टाचार ग¥यो भनेको छ, कार्यवाहक मेयरलाई ज्ञापनपत्र बुझाएको छ । भ्रष्टाचार भएको प्रमाण पुर्याउन सक्नेले अख्तीयार जाने कि उपमहानगरपालिकामा गएर ज्ञापनपत्र बुझाउने, यो उल्टा प्रपोगण्डा गरेका मात्र हुन्, जो जरुरी थिएन । यस्तै प्रपोगण्डाका कारण पनि विकास निर्माण हुन सकेको छैन ।

 धरानमा खानेपानीमा वास्तवमा भएको चाहिँ के हो ?

– एकीकृत सहरी विकास आयोजना एडिबि भनेको खानेपानी बोर्डको मात्र एकल प्रयासले खानेपानी आउने होइन सर्वे डिजाइन हुँदा नै दैनिक जम्मा १ करोड ५२ लाख पानी धरानलाई आवश्यक हो । त्यसमा मैजुदा जति पनि खानेपानीका स्रोतहरू छन् त्यहाँबाट ६० लाख पानी उत्पादन हुनुपर्छ र बाँकी ९२ लाख लिटर पानी जुन छ, त्यो चाहिँ खानेपानी आयोजनाले निकाल्ने भन्ने छ । तर, अहिले के भनियो भने अब नेपाल सरकारको मन्त्री परिषद्ले निर्णय गरेर नेपाल खानेपानी संस्थानको दायित्व पनि खानेपानी बोर्डमा हस्तान्तरण गर्नुपर्छ भनेर निर्णय भइसकेको अवस्थामा अहिले आएर कङ्ग्रेसका केही मान्छे जो लामो समय समितिमा बसे, उनीहरू अहिले आएर परियोजना विफल भयो भन्दै छन् । जतिखेर समितिमा थिए त्यतिञ्जेल केही बोलेनन्, इन्टर कनेक्सनका कामहरू भइरहेका छन् । आयोजनाको अझै म्याद सकिएको छैन । बीचमा अदालत ले स्टे अर्डर जारी गरे, राजनैतिक विरोधलगायतले केही समय ढिलो भएको छ । तर, परियोजना विफल भयो भनेर जुन अफवाह फैलाइएको छ, त्यो के हो भने काङ्ग्रेसको संरक्षणमा खानेपानीको जुन ६० लाख पानी उत्पादन गर्ने पम्प चाहिँ नचलाइ दिने, अनि ६० लाख पानी उत्पादन नभइसकेपछि स्वाभाविक रूपमा पानी पुग्दैन अनि परियोजना असफल भयो भनेर अफवाह फैलाउने ? यो एउटा निराधार अफवाह हो । स्वामित्व हस्तान्तरण गरिदिए लगत्तै खानेपानी बोर्डले १ करोड ५२ लाख पानी आफै उत्पादन गर्छ र वितरण गर्न सक्छ ।