सुनसरी, उदयपुर र सप्तरीको सिमानामा पर्ने कोशीटप्पु वन्यजन्तु आरक्षको चरनक्षेत्रमा प्राणघातक रोग एन्थ्रेक्सको जीवाणुका कारण पशु चौपायाहरू मरेको भन्ने ती चौपायाहरूको रगत परीक्षणबाट खुलेको छ । विशेषज्ञ टोलीले पशुपक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरमा गरेको रगतको नमूना ल्याब परीक्षणबाट स्वाइल वर्न डिजिज ‘एन्थ्रेक्स’ को जीवाणुु फेला परेको पुष्टि भएको छ । यो पुष्टि भएसँगै स्थानीयमा त्राससमेत फैलिएको छ । एन्थ्रेक्सको जीवाणु माटोमा १० देखि २० वर्षसम्म बाँच्न सक्ने र जनावर हुँदै यो मानिसमा समेत फैलिन सक्ने भएकाले यसको सङ्क्रमणबाट तत्काल पशु तथा मानिसको मृत्यु हुने भएकाले आम नागरिकमा त्रास फैलिनु अस्वाभाविक होइन ।

विश्वमा विभिन्न आविष्कारसँगै नयाँ रोग र सङ्क्रमणको पनि उत्तिकै प्रकोपहरू फैलिन थालेका छन् । वातावरणीय प्रभावसँगै घातक प्रकोपहरू देखा पर्ने क्रम बढेको छ । यस्ता गम्भीर प्रकृतिका प्रकोप तथा रोग नियन्त्रणका लागि सरोकारवालाहरूको चासो वाञ्छनीय छ । आरक्षण क्षेत्रको चरीचराउ क्षेत्रमा मरेका चौपायाबाट यो प्रकोप त्यहाँ देखिएको पुष्टि भइसकेकाले उक्त प्रकोप अन्य जनवारमा फैलन नदिन विशेष सावधानी अपनाउनु पर्दछ । कुनै पनि रोग लागेपछि उपचार गर्नेभन्दा पनि रोग लाग्न नदिने उपायहरू खोज्नु बुद्धिमानी हो । स्थानीय, प्रदेश र सङ्घले यस्तो प्रकोप नियन्त्रण तथा स्थानीयमा जनचेतना फैलाउन कुनै कसुर बाँकी राख्नु हँुदैन । चिकित्सकका अनुसार एन्थ्रेक्स जेनेटिक डिजिज भएकाले पशुबाट पशु र मानिसमा समेत सर्न सक्छ । रोग लागेको मानिसको बेलैमा उपचार नभए रोगले ज्यानै लिन सक्ने भएकाले उच्च सावधानी अपनाउनु पर्ने हुन्छ । जीवाणुयुक्त जमिनमा भएको घाँसको तल्लो भागसम्मै खाने जनावरमा बढी मात्रामा तत्कालै भाइरस फैलन्छ ।

मानवमा भने मरेका जनावरको सिनो छुँदा, श्वास लिँदा, घाउखटिरा भएकाहरूमा हावा र पानीको माध्यमबाट र सङ्क्रमित क्षेत्रको सागपात तथा फलफूल राम्ररी नपखाली खाँदा एन्थ्रेक्सको जीवाणु सहजै मानव शरीरमा पुग्ने चिकित्सकहरूले बताएका छन् । अर्को कुरा एन्थ्रेक्स भाइरस ‘बायो टेरेरिजम अट्याक’ का क्रममा प्रयोगमा ल्याउने गरेको निकै खतरनाक जीवाणु भएको विज्ञहरूले बताएका छन् । यस्तो प्राणघातक जीवाणु नष्ट गर्न सबैको चासो हुनुपर्दछ । सन् २०१४ मा दक्षिण भारत हुँदै उत्तर भारतका विभिन्न राज्यमा फैलिएको पाइएको थियो । पछिल्लो वर्ष आन्ध्र प्रदेश, जम्मु–काश्मिर, तमिल नाडु, उडिसा, कर्नाटकमा फैलिएको थियो । नेपालमा पनि आरक्षण हुँदै अन्य क्षेत्रमा फैलिन नदिन तत्काल सबै संयन्त्र प्रयोग गरेर नष्ट गर्नुको विकल्प छैन। गत वैशाख ३१ गते धरानमा देखिएको डेङ्गु प्रकोप विभिन्न प्रदेशका ४३ जिल्लाहरूमा फैलिएको छ । धरानमा अझै पनि यसको प्रकोपले मानिसहरू ग्रसित छन् । डेङ्गु जस्तै एन्थ्रेक्स जीवाणुलाई तीनै तहका सरकारले सामान्य रूपमा नहेरून् । आरक्ष क्षेत्रभन्दा यो जीवाणु बाहिर जाने अवस्था आए विकराल रूप लिने कुरा सबै सरोकारवाला निकायहरूलाई हेक्का हुनु जरुरी छ ।