धनकुटा । परम्परागत रूपमा दिइँदै आएको ढिलो एवम् झन्झटिलो सेवाको सट्टा सर्वसाधारणलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले मालपोत कार्यालय धनकुटाले बुधबारदेखि अनलाइन सेवा सञ्चालनमा ल्याएको छ ।
जिल्ला मालपोत कार्यालय धनकुटाले कागजी प्रक्रियाबाट काम गर्दा ढिलो हुनुका साथै झन्झट बेहोर्नु पर्ने भएकाले अनलाइनमार्फत् सहज र पारदर्शीरूपमा सेवा शुरु गरेको जनाएको हो । अनलाइन प्रणाली शुरु भएपछि आफ्नो जग्गा कति छ भन्ने प्रत्येक व्यक्तिलाई मोेबाइलमार्फत् विवरण लिन सक्ने व्यवस्थासमेत रहेको छ । सेवा प्रवाहमा सेवाग्राहीहरूलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ अनलाइन प्रणाली सञ्चालन गरिएको मालपोत कार्यालय धनकुटाका प्रमुख जितमान जिमीले बताए ।

धनकुटा नगरपालिका वडा नं. १ का कर्णबहादुर तामाङले बेचेको जग्गा लक्ष्मी तामाङले किनेको जग्गाको डिजिटल मालपोत रजिष्ट्रेशन नम्बर प्रदान गरी भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दवाडीले अनलाइन सेवा आरम्भ गरेका थिए ।

सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्न एवम् अनलाइन प्रक्रियामार्फत् जग्गाधनी प्रमाण पुर्जा वितरण गरेपछि एउटै जग्गा जालसाझ गरी फरक–फरक व्यक्तिलाई बेच्दै ठगी गर्न नसक्ने भएकाले यो सेवा प्रभावकारी बनेकोे महानिर्देशक दवाडीको भनाइ छ ।

अनलाइनका कारण जाल झेल गरी अर्काको जग्गा बिक्री गर्न लागेको अवस्थामा तुरुन्त जग्गावालाले जानकारीसमेत पाउने जनाइएको छ । भूमिसुधार मन्त्रालयले देशभरका एकसय ३१ मालपोत कार्यालयमध्ये ७८ मालपोत कार्यालयमा अनलाइन प्रणालीबाट सेवा प्रदान गर्न थालिएको दवाडीले बताए ।