स्वास्थ्यसँग सम्बन्धित शैक्षिक संस्थामा मुलुककै गहनाको रुपमा चर्चित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अरुबेला ४ रेक्टरसम्मको भूकम्प मात्र आउने गरेको थियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मार्दा । तर, असार २६ गते आएको ९ रेक्टरको भूकम्पले बीपी प्रतिष्ठानलाई पूरै हल्लाएको मात्र छैन चार बहालवाला पदाधिकारी मध्ये मुख्य पदाधिकारी उपकुलपति प्रा.डा. राजकुमार रौनियार, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ अख्तियारको पन्जामा छन् । पूर्व उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दास, बहालवाला आर्थिक महाशाखा प्रमुखु दिनेश दाहाल र डेपुटी रजिष्ट्रार अमित श्रीवास्तव, तात्कालीन रजिष्ट्रार नन्दकुमार थापा, प्रतिष्ठानलाई मेडिकल उपकरण आपूर्ति गर्ने ठेकेदार कम्पनीहरु प्रोसिजन मेडिकल प्रालि तथा वायोमेड इन्टरनेसनल प्रालिका प्रोपराइटर चेतन अग्रवाल र सर्जिकेम डिस्टिव्युटर्सका प्रोपराइटर उमेश अग्रवाल पनि अख्तियारको घेरामा परेका छन् । धरान नै घर भएका उनीहरु दाजु भाइ पनि हुन् । रौनियारका भतिज रामहरी रौनियार पनि अख्तियारको कव्जामा छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानका उपकुलपति रौनियारविरुद्ध १ करोड २८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेपछि फेरि अर्को पराकम्प गएको छ । प्रतिष्ठानमा निर्माणाधीन होस्टल र फार्मेसी भवन निर्माण गर्दा ठेकेदार कम्पनी श्यामसुन्दर निर्माण सेवा प्रालिको सबकन्ट्«याक्टर गिना कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशक सुशीलकुमार झालाई मोविलाइजेसन रकमको भुक्तानी दिँदा र विभिन्न मितिमा रनिङ बिलको भुक्तानी दिँदा पटक पटक कमिसनवापत घुस लिएको अडियोसहित अख्तियारमा उजुरी परेको आधारमा रौनियारमाथि विषेश अदालतमा मुद्धा दायर गरेपछि अब प्रतिष्ठान र पक्राउ परेका अरुको अवस्था के हुन्छ भन्ने चासो पनि बढेको छ । नबुझिएको कुरा के छ भने प्रतिष्ठानमा सबैभन्दा बढी भ्रष्टाचार रौनियारको पालामा मात्र भएको होइन । प्रतिष्ठान स्थापनाकालदेखि नै भ्रष्टारको बीउ रोपिएको हो । प्रतिष्ठानबाहिरबाट जो जो उपकुलपति भएर आए उनीहरुको पालामा भ्रष्टाचार भएको चर्चा त्यति सुनिएन । तर जब प्रतिष्ठानभित्रैबाट उपकुलपति हुने होडबाजी शुरु भयो तब भ्रष्टाचार शुरु भएको हो । त्यसका सुरुवातकर्ता पूर्व उपकुलपति बलभद्रप्रसाद दास देखिएका छन् । उनीपछि प्रतिष्ठानकै रौनियार उपकुलपति भएपछि अर्को सिलसिला जारी भयो । आर्थिक चलखेल गर्न र भ्रष्टाचार गर्न सहज बनाउनका लागि प्रतिष्ठानभित्रका सिनियर कर्मचारीदेखि जुनियर कर्मचारीहरु र केही चिकित्सकहरु प्रतिष्ठान बाहिरका पदाधिकारी आए बहिस्कार गर्नेसम्मका हल्ला गर्ने गरेका थिए । प्रतिष्ठानमा वार्षिक दुइ अर्बको त प्रशासनिक कारोबार हुन्छ । केन्द्र सरकार र प्रदेश सरकारले पूर्वाधार तयार गर्न दिने रकम त वार्षिक अर्बौं रुपैयाँ हुन्छ । त्यसमा मेडिकल उपकरण खरिद, कर्मचारी नियुक्ति, एमबिबिएस, बिडिएस, एमडिएस, डिएमएमसिएचको प्रवेश परीक्षामा हुने आर्थिक चलखेलबाट मात्र पनि करोडौंको चलखेल हुने गरेको चर्चा हुँदै आएको थियो ।

अख्तियारले रौनियारले विभिन्न मितिमा ठेकेदार झासँग १ करोड २० लाख रुपैयाँ कमिशनवापत् घुस लिइसकेको आधारमा १३ वर्ष कैद सजायसहित जारिवाना माग गरेको छ । तर घुस दिने गिना कन्स्ट्र्क्सन कम्पनीका प्रबन्ध निर्देशक सुशीलकुमार झालाई भने कुनै कारबाही गरेको देखिँदैन । भ्रष्टाचार निवारण ऐन २०५९, को परिच्छेद २ मा दिनेलाई पनि कारबाही गर्ने व्यवस्था छ । दफा ३ को उपदफा २ मा रिस्वत घुस दिनेलाई पनि उपदफा १ बमोजिम सजाय हुने व्यवस्था छ । उक्त ऐन अनुसार उपकुलपति रौनियारलाई घुस दिने ठेकेदार सुशिलकुमार झालाई अख्तियारले कुनै कारबाहीको दायरामा नल्याएको देख्दा अख्तियारमाथि प्रश्न उठेको छ । अख्तियारले घुस बुझाउने ठेकेदार सुशिल झालाई साक्षीको रुपमा प्रस्तुत गर्दै छुट दिएको नजिरले अब कुनै पनि निर्माण व्यवसायीहरु र कम्पनी वा ठेकेदारहरुले यसअघि जतिसुकै घुस दिएर आफ्नो काम फत्ते गरे पनि अब दुश्मनी साध्नका लागि कसैलाई फसाउन सक्ने सम्भावना बढेको छ । अख्तियारले स्टीङ अप्रेसन गरेर प्रतिष्ठानमा बढ्दो भ्रष्टाचारमा लगाम लगाउन अझै बाँकी छ । प्रतिष्ठानका भ्रष्टाचारी, पदका लोभीपापी, कामचोर, राजनीतिक पदमा बसेर पनि कर्मचारी बनेर तलब भत्ता खाने, चिकित्सक भएर राजनीतिको झण्डा बोक्दै पदको दलाल गर्ने, कमिसनको चक्करमा महँगो उपकरण मगाएर थन्क्याउने भ्रष्टहरुलाई पनि थान्को लगाउन बाँकी छ । यसो भनिरहँदा बीपी प्रतिष्ठानमा पूर्वका सबैजसो बिरामीहरु अनेक रोगको उपचार गर्न आउने भएकाले हाल बन्दै गरेको क्यान्सर रोग उपचार केन्द्र, मातृशिशु उपचार केन्द्र, मुटुरोग उपचार केन्द्र, विस्तार हुँदै गरेको आकस्मिक कक्ष, सघन उपचार कक्ष निर्माणमा यस्ता मुद्धाले प्रभावित नबनाओस् र बिरामी उपचारमा आवश्यक भएका विभिन्न आधुनिक उपकरण खरिद रोकिएकाले पनि दुई चारजनाले गरेको भ्रष्टाचारले हजारौं बिरामीले सास्ती खेप्न नपरोस् भन्नेतिर पनि उत्तिकै ध्यान दिनु जरुरी छ ।