भारत प्रशासित काश्मिरमा मुख्यनेता नेताहरुलाई नजरबन्द, धारा १४४, पर्यटक र अमरनाथ तीर्थयात्रीहरुलाई तत्काल घाटी छोड्न दिइएको आदेशपछि भारत सरकारले चालेको कदमका बारेमा अनेक अनुमानहरु लगाउन थालिएको छ । 

यसका बारेमा न त जम्मू-काश्मिर प्रशासनकातर्फबाट कुनै आधिकारिक धारणा सार्वजनिक भएको छ, न त केन्द्र सरकारले कश्मिरमा के हुन गइरहेको छ भन्ने बारेमा प्रष्ट्याएको छ ।

घाटीमा ठूलो चरमपन्थी हमला हुन सक्ने सूचना पाएपछि सरकारले यस्तो कदम उठाएको केही मानिसहरुको अनुमान छ ।  

कश्मिरभन्दा बाहिर राजनीतिक आक्रमणमा अनुमानको बजार तातेको छ । मोदी सरकारले भारतीय संविधानमा काश्मिरलाई दिइएको विशेष दर्जालाई खारेज गर्न गइरहेको पनि केहीले आशंका गरेकाे खबर बीबीसी  हिन्दीले लेखेकाे छ । 
 
भारतमा ट्विटरमा ह्यासटयग #kashmirparfinalfight ट्रेण्डिङमा छ । बलिउड अभिनेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थक अनुपम खेरले ट्विट गरेर भनेका छन्, “काश्मिरको समाधान सुरू भइसकेको छ ।”

अनुपम खेरको ट्विटको जवाफमा वरिष्ठ पत्रकार स्वाति चतुर्वेदीले भनेकी छिन्, “थाहा छ, यसको अन्तिम समाधान के हो ? के यिनीहरु काश्मिरमा जनसंहार चाहन्छन् ?”

स्वातिलाई जवाफ फर्काउँदै अनुपम खेरले भनेका छन्, “स्वाति जी जनसंहार त १९९० मा भएको थियो, काश्मिरी पण्डितहरुको । जसका बारेमा तपाईंको सुविधाजनक याद समाप्त भइसकेको छ । अब त सुधार हुने सम्भावना छ ।”

यसमा स्वाति चतुर्वेदीले जवाफ छ, “मेरो स्मरणशक्ति सकिएको छैन् । काश्मिरी पण्डितहरुको भयावह याद रिपोर्ट गरिएको थियो । तर, मिस्टर खेर के तपाईं प्रतिशोधमा जनसंहार चाहनुहुन्छ ? कुनै भारतीयले यस्तो चाहँदैनन् ।” अनुपम खेरले फेरि जवाफ फर्काए, “रिपोर्ट गरिएको थियो ? धेरै-धेरै आभार ।”’

काश्मिरी पण्डितहरुका बारेमा वरिष्ठ पत्रकार राहुल पण्डिताले ट्विटरमा लेखेका छन्, “सोमवार संसदमा कांग्रेसका प्रति मेरो पूरै सहानुभूति रहने छ ।” भारतीय जनता पार्टी (भाजपा) संसदमा काश्मिरलाई दिइएको विशेष दर्जा ‘३५ ए’ का बारेमा कुरो उठाऐ कांग्रेसका लागि निर्णयमा पुग्न सहज नभएको बताइन्छ ।

भारतका पूर्व क्रिकेटर इरफान पठानले पनि पछिल्लो समयमा काश्मिरमा देखिएको असामान्य परिस्थितिका विषयमा ट्विट गर्दै हरेक विषयमा धर्मलाई जोड्नु उचित नभएको बताएका छन् । 

उनले भनेका छन्, “सत्य यो हो कि अमरनाथ यात्रीलाई सम्भावित खतराका कारण यात्रा समाप्त गर्न भनिएको हो । यसै कारण सुरक्षासँग जोडिएका निर्णय लिइएको हो । आफ्नो नाकारात्मक सोच परिवर्तन गरौं । हरके कुरामा धर्मलाई नजोडौं । हरेक कुरामा प्रमण नमागौं ।”
 
काश्मिरका अलगावादी नेता मीरवाइज उमर फारूकले अगस्ट ३ मा काश्मिरका प्रति मोदी सरकारले अबलम्बन गरेको नीतिलाई ईंगित गर्दै ट्विट गरेर काश्मिरी जनतालाई बहादुरीका साथ रहन र हतोत्साहित नहुन आग्रह गरेका थिए । मीरवाइजले ट्विटरमा भनेका थिए, “के हुन गइरहेको छ भन्ने बारेमा सरकारले जवाफ दिनु पर्दछ ।”
 
उनको ट्विटको जवाफमा पाकिस्तानका सूचना मन्त्री चौधरी फवाद हुसैनले भने, “पाकिस्तानका मानिसहरु काश्मिरीका साथमा छन् । भारतले सत्यको सामना गरोस् न कि नागरिकलाई खतरामा हालोस् ।” 

भारतका चर्चित रक्षा विश्लेषक अजय शुक्लाले ट्विट गरेर भनेका छन्, “सैनिकको तैनाथी, नेताहरुको गिरफ्तारी, इन्टरनेट–फोन सेवा ठप्प र कर्फ्यू लागु । आगामी राजनीतिक कदम के हुन्छ भन्ने सवाल उत्पन्न भएको छ । ३५ ए, अनुच्छेद ३७० खारेज गरिन्छ ? अमरनाथ यात्रासम्म किन प्रतिक्षा गर्न सकिएन ?”

कांग्रेसका वरिष्ठ नेता तथा पूर्व गृहमन्त्री पी. चिदम्बरमले पूरै मामिलामा ट्विट गरेका छन् । “मैले जम्मू-काश्मिर सरकारले दस्साहस गरिरहेको बारेमा सचेत गराएको थिएँ । यस्तो लाग्दैछ कि सरकार यस्तो गर्न आतुर छ । जम्मू–काश्मिरका नेताहरुको नजरबन्दबाट सरकार सबै लोकतान्त्रिक अधिकार र सिद्धान्तहरुलाई आफ्नो लक्ष्य प्राप्तिका लागि समाप्त गरिसकेको संकेत देखिएको छ । म नजरबन्दको निन्दा गर्दछु ।”

- बीबीसी/हिन्दीबाट अनुदित