कुनै पनि सहकारी एउटा निश्चित नियम र मापदण्डमा सञ्चालन भएको हुन्छ । सञ्चालक समितिदेखि कर्मचारी नियुक्तिमा एउटा निश्चित मापदण्ड छ । तर, वषौंदेखि सहकारीको मापदण्डलाई लत्याएर आफुखुशी सहकारी सञ्चालन भइरहँदासमेत नियमनकारी निकाय रमिते बन्नु किमार्थ उचित होइन । सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण विकले प्रबन्धक आफ्नै छोरा, लेखापाल साली राखेर सहकारीको बचत आफ्नो नीजी सुन पसलमा जम्मा गर्दासमेत त्यहाँको सञ्चालक समितिले उनीहरुको ठगी धन्दाको सुइँको नपाउनु विडम्बना हो ।
 
कृष्ण विकले सबै प्रक्रिया पुर्याएर बचतकर्ताको रकम ठगी गरेको देखिन्छ । केही समय अगाडि केही बचतकर्ताहरुले आफ्नो सम्पति निकाल्न खोज्दासमेत आलटाल गरी पर्खन लगाएर असार २३ गते फरार भएको देखिन्छ । उनी फरार हुँदासमेत परिवार अर्थात् सहकारीका प्रबन्धक मोहन विकसँग सल्लाह भएको देखिएको छ । २३ गते फरार हुनु र २४ गते नै बुवा हराएको भनेर खोजतलासका लागि प्रहरीमा जाहेरी दिनुले सबै काम सेटिङमा भएको बुझ्न असजिलो छैन । बचतकर्ताको ५ करोडभन्दा माथि हिनामिना गरी फरार भएका बेला सुनसरी क्षेत्र नं.१ बाट नेपाली काङ्ग्रेसबाट सांसद बनेका मीन विश्वकर्माले उनका आफन्तमार्फत् कृष्ण विक फरार भएको चौथो दिन सम्पत्ति नामसारी गरिनु झन् रहस्यमय बनेको छ । मीन विश्वकर्मासँग कृष्ण विकको राम्रै हिमचिम थियो भन्ने कुरा उनका माइला छोराले सञ्चालन गरेका सुन पसल उद्घाटनमा प्रमुख अतिथि विश्वकर्मा नै आएको कुराले पुष्टि गरेको छ ।
 
कृष्ण विक र  मीन विश्वकर्माका बीच व्यावसायिक सम्बन्ध समेत रहेको बजारमा चर्चासमेत रहेको बेला उनीहरुबीचको साठगाँठको विषय बचतकर्ताहरुले उठाउनुलाई अस्वाभाविक मान्न सकिँदैन। विगतका सम्बन्ध र घटनाले कृष्णसँग सांसद विश्वकर्मालाई जोडेको छ । खाइ नखाई बचत गरेको लाखौँ रकम जोखिममा परेका बचतकर्ताहरुले लगाएको आरोपलाई असत्य सावित गर्न कृष्ण विकलाई कानूनी दायरामा ल्याउन विश्वकर्माले भूमिका खेल्नुपर्दछ । ‘आफ्नो दुनो सोझ्याउने माननीय’ भन्ने आरोप लागेको बेला आफ्नो निर्वाचन क्षेत्रका जनताको समस्या सुल्झाउनु उनको पनि दायित्व हो । यो वा त्यो वहानामा पञ्छिने भन्दा पनि ‘कृत्रिम फरार’ कृष्णलाई उपस्थित गराएर बचतकर्ताहरुको व्याजसहितको रकम फिर्ता गर्न मीन विश्वकर्माले भूमिका निर्वाह गर्न सक्नुपर्दछ । उनले यो खुबी प्रर्दशन गरे भने उनीमाथि लागेको आरोप पाखालिने मात्र होइन धरानको सच्चा नेताको रुपमा विश्वकर्मा स्थापित हुनेछन् ।