सुनसरी/ इटहरीको साविका प्राथमिक स्वास्थ्य केन्द्रको स्तारोन्नति गरी आकस्मिक सेवा विस्तार गरिएको छ ।

केही समयअघि केन्द्रलाई इटहरी अस्पतालका रूपमा विकास गरिएको थियो । बुधबार एक कार्यक्रमका गरी आकस्मिक सेवाको औपचारिक उद्घाटन गरिएको हो ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आकस्मिक सेवाको उद्घाटन गरे । पहिले प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा रहेको सो अस्पताललाई केही समय पहिले मात्र १५ शय्याको अस्पतालको रूपमा विस्तार गरिएको थियो । बुधबारदेखि भने २४ सै घण्टा सेवा प्रदान गरिने इटहरी उपमहानगरपालिका स्वास्थ्य विभागका जनस्वास्थ्य अधिकृत रामचरण चौधरीले बताए ।

उनका अनुसार अझ प्रभावकारी सेवा दिनका लागि अझै पनि जनशक्ति थप्नुपर्नेछ । हाल २ जना एमबीबीएस डाक्टर सहित स्टाफ नर्स, अनमि, ल्याब टेक्निसियनलगायतका आवश्यक स्वास्थ्य प्राविधिक रहेका छन् । अस्पतालमा अक्सिजन तथा इसीजी लगायतको आधारभूत सेवा रहेको छ । चौधरीका अनुसार हाल महिनामा तीन सयभन्दा बढी बिरामी आउने गरेका छन् ।

बढ्दो जनसङ्ख्यालाई मध्यनजर गर्दै २४ सै घण्टा खुल्ला रहने गरी अस्पतालमा आकस्मिक सेवाको शुरु हुनु इटहरीको लागि गौरवको विषय भएको सहभागीहरूले बताए । इटहरीमा सरकारी स्तरको सुविधा सम्पन्न अस्पताल नभएको अवस्थामा गरिब, विपन्न वर्गका जनतालाई यहाँबाट उल्लेख्य सेवा लिन सक्ने इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

स्वास्थ्य सेवामा सहज पहुँच नपुगिरहेको अवस्थामा इटहरी उपमहानगरपालिकाले यो अस्पतालको सेवामा विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सेवाको विस्तार गरेको जनाएको छ । कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले स्वास्थ्य सम्बन्धी जागरणको अभाव भएको कारण पनि धेरै स्वाथ्य सम्बन्धी समस्या सिर्जना भएको भन्दै सरकारी स्तरबाट मात्र स्वास्थ्य चेतना सम्भव नभएको कारण समुदायको पनि दायित्व रहेको बताए ।