ताप्लेजुङ/ हिमाली जिल्ला ताप्लेजुङमा पानीका कारण लाग्ने रोगका बिरामीहरु बढ्दै गएका छन् । पहाडका पानीका मुहानहरू दूषित हुन थालेसँगै जिल्ला अस्पताल ताप्लेजुङमा बिरामीको चाप ह्वात्तै बढेको छ ।
पछिल्लो केही दिनयता दैनिक सयौँको सङ्ख्यामा बिरामीहरू अस्पताल पुग्ने गरेका छन् । एक हप्ता अघिसम्म दैनिक ५० जना मात्र बिरामी आउने गरे पनि चार दिनयता दैनिक १ सय बढी बिरामीले स्वास्थ्य जाँच तथा उपचार सेवा लिइरहेको अस्पतालले जनाएको छ ।
गाउँका स्वास्थ्य संस्थामासमेत रुघा, खोकी र ज्वरोका बिरामीको चाप बढेको बताइएको छ । वर्षाका कारण पानीका मुहानहरू प्रदूषित हुने भएकाले अधिकांश पानीजन्य रोगका बिरामी आउने गरेको निमित्त अस्पताल प्रमुख डा. सोनिङ लामाले बताए । ‘पछिल्लो केही दिनयता अत्यधिक मात्रामा बिरामीहरू आइरहेका छन् । विगत ३ वर्षको तुलनामा यसवर्ष निकै धेरै पानीजन्य रोगका बिरामी आएका छन्’ डा. लामाले भने, ‘दैनिक १ सयभन्दा बढी बिरामी आइरहेका छन् ।’
बिरामीको चाप ह्वात्तै बढेपछि स्वास्थ्य सेवा प्रवाहमा भने थप समस्या सिर्जना भएको छ । दरबन्दीअनुसारका कर्मचारी नहुँदा लामो समयदेखि समस्याग्रस्त अस्पतालमा अहिले ४ जना डाक्टरले चौतर्फी भ्याउनुपर्ने बाध्यता छ । अस्पतालमा पर्याप्त कर्मचारी नभएपछि प्रदेशको सामाजिक विकास मन्त्रालयमा पहल थालिएको डा. लामाको भनाइ छ ।
यता हालै कर्मचारी समायोजनले अस्पतालका ९ जना कार्यालय सहयोगी अन्यत्रै गएपछि बिरामी र औषधिको व्यवस्थापनलगायतमा समस्या भएको बताइएको छ । जनस्वास्थ्यको गोदामबाट अस्पतालसम्म औषधि ल्याउनेसम्म कर्मचारी छैनन् । यस्ता पानीजन्य रोगवाट बच्नको लागि पानीलाई उमालेर सेवन गर्नु उचित हुने चिकित्सकहरूको सुझाव छ ।