विराटनगर । विराटनगर भन्सार कार्यालयले लक्ष्य भन्दा कम राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष ०७५/७६ मा ४२ अर्ब ५३ करोड १ लाख ९२ हजार लक्ष्य राखेकोमा ३८ अर्ब २८ करोड ७ लाख ३ हजार ७४ रूपैयाँ मात्र राजस्व सङ्कलन भएको छ । जुन आर्थिक वर्षको लक्ष्यभन्दा १० प्रतिशत कम राजस्व असुली भएको हो ।
विराटनगर भन्सार कार्यालयका अधिकृत अशोक गुरागाईंका अनुसार अनुमानित लक्ष्यको ९०.२ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको बताए । ‘अघिल्लो आर्थिक वर्षमा लक्ष्यभन्दा बढी नै राजस्व असुली भए पनि आर्थिक वर्षका लागि राखिएको लक्ष्य भने भेटाउन सकिएन,’ अधिकृत गुरागाईंले भने, ‘आयात घट्यो, विकास बजेट कम खर्च हुनुको प्रभाव भन्सारमा परेको छ ।’
भन्सार कार्यालयले भन्सार महशुलतर्फ १५ अर्ब ४६ करोड ८ लाख ६ हजार ४९ रुपैयाँ, मूल्य अभिवृद्धितर्फ २० अर्ब ८४ करोड ८२ हजार ७२० र अन्तःशुल्कतर्फ १ अर्ब ९६ करोड, ७१ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो । भन्सार कार्यालयले भन्सार महशुलतर्फ १८ अर्ब ३० करोड ७७ हजार १२०, मूल्य अभिवृद्धितर्फ १८ अर्ब ३४ लाख ४७ हजार र अन्तःशुल्कतर्फ ६ अर्ब २२ करोड ७५ हजार ९ सय रुपैयाँको लक्ष्य राखेको थियो ।
उनले भारतीय स्थानीय प्रशासनले आर्थिक वर्षको अन्त्यमा आयात–निर्यातमा गरेको अवरोध पनि कारण बनेको छ । ‘पछिल्ला चार दिनदेखि आयात–निर्यात पूरै ठप्प छ,’ उनले भने, ‘असार महिनामा राजस्व असुलीको अवस्था निराशाजनक देखिन्छ ।’ सबैभन्दा बढी असोज महिनामा राजस्व असुली भएको छ । असोजमा मात्र ३ अर्ब ९७ करोड राजस्व सङ्कलन भएको अभिलेखमा देखिन्छ ।
गतवर्ष ३१ अर्ब २४ करोड रुपैयाँको लक्ष्य राखेर ३२ अर्ब ८१ करोड रुपैयाँ राजस्व असुली गरेको थियो । जुन लक्ष्यको अनुपातमा १०५ प्रतिशत रहेको थियो ।
































