धरान । स्वास्थ्य संस्थाहरूपिच्छे डेङ्गु रोगीलाई परीक्षण गर्ने किटको मूल्य फरक–फरक भएको भन्दै धरान उपमहानगरले एकरूपता ल्याउने निर्णय गरेको छ ।
शनिबार निजी स्वास्थ्य संस्थाहरूसँग छलफल गर्दै परीक्षण गरिने किटको मूल्य ६ सय रुपैयाँ कायम गर्ने निर्णय गरेको हो । किटको मूल्य हरेक स्वास्थ्य संस्थामा फरक भएको जनगुनासो आएपछि धरान उपमहानगरपालिकाको स्वास्थ्य शाखाले चासो देखाएको थियो । धरानमा गत वैशाख ३१ गतेबाट डेङ्गु रोगीको सङ्ख्या तीव्र रूपमा बढेपछि बिरामीहरूले आफ्नो पायक पर्ने स्थानमा परीक्षण गरेको थियो ।
छलफलपछि डेङ्गु रोगका लागि परीक्षण गरिने ¥यापिड डाइग्नोष्टिक टेष्ट किट (आरडीटी) बाट गरिने सबै परीक्षणमा ६ सय रुपैयाँ मात्रै कायम गरिने निर्णय गरिएको धरान उपमहानगर स्वास्थ्य शाखाका प्रमुख कविराज रामबाबु यादवले जानकारी दिए ।
त्यस्तै डेङ्गु नियन्त्रणका लागि स्वास्थ्यकर्मीले आआफ्नो स्तरबाट सहयोग गर्ने निर्णय गरिएको छ । धरानका निजी स्वास्थ्य संस्था तथा क्लिनिकहरूमा डेङ्गु परीक्षण गर्दा आवश्यक पर्ने किट आरडिटी निःशुल्क गर्नका लागि प्रदेश सरकारसँग पहल गर्ने निर्णयसमेत गरिएको छ । धरानमा हालसम्म २ हजार ४२ जनामा डेङ्गु पोजेटिभ भेटिएको छ ।