बिर्तामोड/ झापा प्रहरीले चालू आर्थिक वर्षमा गतवर्षको तुलनामा झण्डै दोब्बर राजश्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले सङ्कलन गर्ने राजश्व भने २२ प्रतिशतले घटेको पाइएको छ ।
चालू आर्थिक वर्षको अन्तसम्म आइपुग्दा झापा प्रहरीले ४ करोड १० लाख ५७ हजार ४ सय ६८ रुपैयाँ र ट्राफिक प्रहरीले तीन करोड ५९ लाख ११ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको जनाएका छन् । झापा प्रहरीले अघिल्लो आर्थिक वर्षमा २ करोड ९४ लाख १६ हजार ४ सय ५९ रुपैयाँ सङ्कलन गरेको थियो । यही वर्ष ट्राफिक प्रहरीले ४ करोड ६१ लाख ३४ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको हो । अघिल्लो आर्थिक वर्षको राजस्व सङ्कलनलाई तुलना गर्दा ट्राफिक प्रहरीले झापा प्रहरीको भन्दा ६४ प्रतिशत बढी राजश्व सङ्कलन गरेको थियो ।
चालू आर्थिक वर्षमा भने ट्राफिक प्रहरीको राजश्व सङ्कलनमा भारी गिरावट आएको देखिन्छ । यो वर्ष झापा प्रहरीको भन्दा ट्राफिक प्रहरीले १३ प्रतिशत कम राजश्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले यस वर्ष ४७ हजार सात सय सवारीमाथि कारबाही गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापा र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले चालू आर्थिक वर्षको यो अवधिमा सात करोड ६९ लाख ६८ हजार ४ सय ६८ रुपैयाँ राजश्व सङ्कलन गरेको जनाएका छन् ।
प्रहरीले भन्सार छली, चोरीनिकासी, पैठारी, फरार अभियुक्तलाई पक्राउ गरेर लाग्ने जरिवाना लगायतमा राजश्व सङ्कलन गर्दै आएको छ । प्रहरीले चालू आर्थिक वर्षमा ६४ लाख २ हजार २ सय १५ रुपैयाँ फरार अभियुक्त पक्राउ गरेर जरिवाना सङ्कलन गरेको छ । अदालतको आदेश पाए पनि फरार रहेका १ सय ७९ जना अभियुक्त पक्राउ गरी सो राजश्व सङ्कलन गरेको झापा जिल्ला प्रहरी प्रमुख दिनेश मैनालीले बताए ।
सीमाक्षेत्रमा हुने चोरी–पैठारी नियन्त्रणमा प्रहरीको सक्रियताका कारण राजश्व सङ्कलन बढेको मैनालीले बताए । उनले चोरी–पैठारी नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने बताए । मैनालीले यो वर्ष अपराधमा संलग्न भएर फरार भएका अभियुक्तबाट पनि विगत वर्षको तुलनामा बढी राजश्व सङ्कलन गर्न सकिएको जानकारी दिए ।
ट्राफिक प्रहरीले मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउने, चोरीका सवारीसाधन बरामद, ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालक र सवारीसाधनमाथि कारबाही गरेर राजश्व सङ्कलन गर्ने गरेको छ । झापा ट्राफिक प्रहरी प्रमुख होम अधिकारीले दुर्घटना न्यूनीकरणका लागि सचेतना अभियानमा सक्रिय भएका कारण राजश्व सङ्कलनमा कमी आएको हुनसक्ने बताए । उनले चेकजाँचमा केही कमी गरिएको बताउँदै विगतका वर्षहरूको तुलनामा दुर्घटना घटेको समेत बताए ।