सिरहा/ सिरहा जिल्लामा आँपको उत्पादनमा कमी आएपछि मूल्यमा दोब्बरले वृद्धि भएको छ । यो वर्ष जिल्लाका विभिन्न क्षेत्रमा आँपको उत्पादनमा कमी आएपछि अहिले काँचो आँपको मूल्यमा समेत गत वर्षभन्दा दोब्बरले वृद्धि भएको हो ।
फूल फुलेर फल लाग्ने मौसममा आँपको राम्रो फल लागेको भए तापनि पटक–पटक आएको हावाहुरी र असिनाले सिरहा जिल्ला विभिन्न ठाउँमा आँप उत्पादनमा ठूलो क्षति भएपछि उत्पादनमा कमी भएको कारण मूल्य वृद्धि भएको आँप उत्पादक व्यावसायिक व्यापारीे बताए । गत वर्ष यो समयमा काँचो आँपको मूल्य प्रतिकिलो २५ देखि ३५ सम्म रहेको थियो । यो वर्षको सोही समयमा काँचो आँपको मूल्य प्रतिकिलो ८० देखि ११० रहेको सिरहा जिल्ला मिर्चैयाका आँप व्यापारी शिव शंकर साहले बताए ।
यस पटक फागुनको अन्तिम हप्ता र चैतको पहिलो हप्तामा नै हावाहुरी र असिनाले फल लाग्दै गरेको आँपमा ठूलो क्षति पु¥याएकाले आँप उत्पादक कृषकले ठूलो घाटा व्यहोर्नु परेको कल्याणपुर नगरपालिका वडा नं.६ का स्थानीय नेता प्रदिप कुमार साहले बताए । साहले भने, व्यापारीहरुले बाहिरबाट रासायनिक पदार्थ मिसाएर ल्याएको सस्तो आँप अहिले बजारमा सस्तो मूल्यमा बिक्री हुने गरेको छ ।
आँप उत्पादक कृषकले नै आँपको मूल्य सस्तोमा बिक्री गर्न नसकिने भने पनि यस पटक सिरहा जिल्ला भरीलगायतका स्थानमा काँचो आँपको मूल्य नै महँगो पर्न थालेको उपभोक्तासमेत बताउँछन् । यस वर्ष आँपको मूल्य गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएको मिर्चैया नगरपालिका वडानं.२ का रामनरायन ठाकुरको धारणा छ । काँचो आँपको मूल्य नै प्रतिकेजी ८५ पर्न थालेपछि यस पटक ग्राहकले आँप किनेर खान निकै महँगो पर्ने अवस्था आएको मिर्चैया नगरपालिका वडा नं. ६ का स्थानीय यूवा अमरनरायन साहको भनाई छ ।
सिरहामा यस वर्ष ५ हजार १ सय ७० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १ दशमलव ५ प्रतिशतका दरले ७ हजार ७ सय ५५ मेट्रिक टन मात्र आँप उत्पादन भएको कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख भगीरथ यादवले जानकारी दिए ।
कूल ५ हजार ७ सय ५५ हेक्टरमा आँप फल्ने जग्गा रहेको जिल्लामा गत वर्ष ५ हजार १ सय ७० हजार हेक्टरमा प्रतिहेक्टर ४ दशमलव ५ प्रतिशतका दरले २३ हजार २ सय ६५ मेट्रिक टन आँप उत्पादन भएको थियो । साथै प्रदेश नं.२ का ८ जिल्लामा आँपको मूल्यमा दोब्बर वृद्धि भएको छ । सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, रौतहट, बारा, पर्सा लगायतका जिल्लाहरुका बजारमा समेत आँपको मूल्यमा दोब्बर वृद्धि भएको छ ।
त्यसै गरी सिरहा जिल्ला भरीमा ८ नगरपालिका र ९ गाउँपालिका गरी १७ स्थानीय तह मध्ये लहान नगरपालिका, धनगढीमाई नगरपालीका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, सुखिपुर नगरपालिका, मिर्चैया नगरपालिका, कल्याणपुर नगरपालिका, सिरहा नगरपालिका, भगवानपुर गाउँपालिका, नवराजपुर गाउँपालिका, बरियारपट्टी गाउँपालिका, अर्नमा गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, औरकी गाउँपालिका, सखुवानान्नकारकट्टी गाउँपालिका, नरहा गाउँपालिका र बिष्णपुर गाउँपालिका लगायत शहरमा बिक्री भइरहेको स्थानीय यूवा बेबी शंकर साहले बताएका छन् । आँप उत्पादनको दृष्टिकोणले सिरहा जिल्ला अग्रणी मानिन्छ ।