वराहक्षेत्र/ चक्रघट्टी देवीघाटकी शान्ति लिम्बू ढाका कपडा बुन्ने तालिममा व्यस्त छन् । पहिला त्यसै दिन काट्ने शान्ति अहिले तालिममा समय व्यतित गर्छिन् ।

वराहक्षेत्र–७ देवीघाटमा शुरु भएको ३ महिने ढाका कपडा बुनाइको तालिमले उनीजस्तै १५ गृहिणीलाई व्यस्त बनाएको छ । इटहरीको घरेलु तथा साना उद्योगले चैतको तेस्रो सातादेखि सञ्चालित तालिममा दिलकुमारी राई, अनु राई, अनुसा खनाल, सविना लिम्बू, लीला मगर, मल्लिका, बिमला, रोशनी, मीना लिम्बू, शर्मिला राई, दक्षिणा कोइराला, दुर्गा थापा, रिवा चौधरी र शर्मिला तामाङलगायत तालिममा दैनिक ७ घण्टा समय दिन्छन् ।

उनीहरूलाई ढाकाको टोपी, मफ्लर, रुमाल, हाफ सल, कुर्ता सुरुवाल, दौरा, सर्ट पेण्ट, पछ्यौरी र साडी बुन्ने तालिम दिइरहेको प्रशिक्षक चन्द्रकुमारी लिम्बूले बताइन् । ‘आफैले तान लाएर कपडा उत्पादन गर्ने हो बजारको लागि बाहिर जानु पर्दैन, कपडा स्थानीय बजारमा नै बिक्री हुन्छ’ –सोमबारेमा ढाका कपडाको पसलसमेत चलाएकी चन्द्र कुमारीले भनिन् ।

दैनिक ५ सयदेखि एक हजार रुपैयाँभन्दा बढी कमाइ हुने चन्द्रकुमारीले बताइन् । अर्का प्रशिक्षक निर्मला भट्टराई भन्छिन्, ‘पहिला यस्तो तालिम लिन बाहिर जानुपथ्र्र्यो तर अहिले आफ्नै नगरपालिकामा सजिलै तालिम लिन पाइएको छ ।’ ‘घरमा त्यसै बस्नुभन्दा पनि आत्मनिर्भर बनिन्छ भनेर तालिम लिन आएकी हुँ’–सहभागी शान्ति लिम्बू भन्छिन् ।