झापा  /  वैदेशिक रोजगार विभागबाट आएको टोलीले झापा बिर्तामोडमा सञ्चालित मेनपावरका शाखा कार्यालय अनुगमन गरेको छ ।
विभागबाट आएको टोलीले शनिवार बिर्तामोडका शाखा कार्यालयहरुका बिभागले दिएको अनुमति पत्र, मेनपावरका प्रधान कार्यालयले दिएको नियुक्तिपत्रको प्रतिलिपि समेत लिएका थिए । विभागका शाखा अधिकृत उषा थपलिया र लेखा अधिकृत पार्वता थापाले शाखाहरुको भौतिक संरचनासमेतको अनुगमन गरेका थिए ।
उनीहरुले बिर्तामोडको शिवाकोटी, सुनकोशी, फजल, शान, पुकार, मिमोसा र जुपिटरका शाखा कार्यालय अनुगमन गरेको शाखा अधिकृत थपलियाले बताइन् । ‘सम्बन्धित ब्यक्ति हुनुहुन्छ हुनुहुन्न त्यो चेक गरियो’ अधिकृत थपलियाले भनिन् ‘ बिर्तामोडमा सञ्चालित शाखाहरु मापदण्ड अनुसारका नै भएको पायौं ।’ शुक्रवार नै आए पनि प्लेन ढिले भएका कारण अनुगमन गर्न नसकेको टोलीकी पार्वता थापाको भनाई थियो । ‘शनिवार विदाको दिन भए पनि सवैले कार्यालय खोलेर सहयोग गरिदिनु भयो ।’ थपलियाले भनिन् । तर, ह्युमर मेनपावरको कार्यालय भने बन्द भएको र जानकीको कार्यालयको चावी नभएर सम्बन्धित व्यक्तिसँग कुरा मात्र भएको उनले बताइन् ।
नियमावली आएर मेनपावरको प्रधान कार्यालयले धरौटी राखे पछि विभागको नियमानुसार शाखा दिइने उनले बताइन् । उनले बिर्तामोडका सवै एजेन्ट कार्यालय बन्द भएको पाइएको बताइन् । ‘ऐनले शाखाको व्यवस्था गरेको छ’ अधिकृत थपलियाले भनिन्– ‘ऐनमै विभागले मेनपावको धरौटीका आधारमा शाखाका लागि न्युनतम २ लाख रुपैयाँ डिपोजिट तोकेको छ ।’ पूर्व एजेन्टहरु कर्ण पौडेल, थुम्मप्रसाद थापा र केदार ढुङ्गानाले पहिले गरेका काम अधुरा रहेकाले प्रशासन समक्ष ७ दिनको समय माग गरेको उनीहरुले जानकारी गराएकोे उनले बताइन् ।