दमक । चालु आर्थिक वर्षमै सक्ने गरी बिहिबार झापाको शिवसताक्षीमा विपन्न आवासको शिलान्यास गरिएको छ । विपन्न, गरिब र सिमान्तकृत नागरिकहरूका लागि प्रदेश सरकारको भौतिक योजना मन्त्रालयको शहरी विकास तथा भवन निर्माण कार्यक्रमअन्र्तगत घर निर्माण शुरु भएको हो ।

प्रदेश सरकारको भौतिक योजना मन्त्रालयको शहरी विकास तथा भवन निर्माण कार्यक्रमअन्र्तगत शिवसताक्षी नगरपालिका वडा नम्बर १ स्थित माझी बस्तीमा घर निर्माण हुने भएको छ । बिहिबार प्रदेश सांसद झलक सिंह दर्लामी, नगरप्रमुख चन्द्र कुमार शेर्मालगायतले घर निर्माणको लागि सामूहिक रूमा शिलन्यास गरेका हुन् ।

प्रदेश नम्बर १ ले सिमान्तकृत, विपन्न तथा घरबार विहीन भएका नागरिकलाई आवासको प्रदान गर्नका लागि सहरी विकास तथा भवन निर्माणको कार्यक्रमको कार्यक्रम अघि सारेको प्रदेश सांसद झलक सिंह दर्लामीले बताए । झापा निर्वाचन क्षेत्र नम्बर ४ का विभिन्न स्थानहरूमा ४२ ओटा घर निर्माण गरिने भएको छ । कार्यक्रमअन्र्तगत शिवसताक्षी नगरपालिकाका ११ वटै वडाहरूमा रहेका ३÷ ३ परिवारलाई घर निर्माण गरिने जनाइएको ।

घर निर्माणका लागि प्रत्येक परिवारलाई प्रदेश सरकारले ३ लाख ३२ हजार ५ सय रकम उपलब्ध गराएको छ भने १० प्रतिशत लागत सहभागिता उपभोक्ताको रहने बताइएको छ । जस्ताको छानो र ईटाको पर्खाल रहने घरमा २ वटा कोठा, एउटा बरन्डा र एउटा शौचालयसमेत निर्माण हुनेछ ।

यस क्षेत्रमा निर्माण हुने ४२ ओटा घरहरू चालु आर्थिक वर्षको अन्तिमसम्ममा निर्माण कार्य सम्पन्न गरिने बताइएको छ । घर बनाउन छुटेका परिवारलाई आगामी बजेटबाट घर निर्माण गरिने प्रदेश सांसद झलक सिंह दर्लामीले बताए ।