दमक । असार सकिन अब दुई साता मात्र बाँकी छ । चालु आर्थिक वर्षमा चलेका योजना, सम्पन्न भएका योजना काम भएअनुसार अब खुरुखुरु भुक्तानी अर्थात् फरफारक गर्ने बेला भएको छ । तर करिब ११ महिनासम्म काम गर्न नभ्याएर झापाको गौरीगञ्ज गाउँपालिकाले भने यतिबेला नयाँ योजनाको काम गर्नका लागि भन्दै धमाधम सम्झौता गरिरहेको छ । आर्थिक वर्ष सकिनै करिब १८ दिन बाँकी रँहदा पनि योजनाको सम्झौता गर्र्दै काम गर्न लगाइन्छ भने त्यो काम कतिको गुणस्तिरीय होला ?

दोस्रो गाउँसभाबाट चालु आर्थिक वर्षका योजनहरू छनौट भएको ११ महिना बितिसक्दा समेत सुषुप्त रहेका उपभोक्ता समितिहरू अहिले आर्थिक वर्षको अन्त्यमा धमाधम योजना सम्झौता गर्न थालेका छन् । गौरीगञ्ज गाउँपालिकाको योजना शाखाको रेकर्डअनुसार असार ८ गते यता ७ वटा नयाँ योजनाहरू सम्झौताहरु भएको देखिन्छ । वडा नं. २ को बगाहाचौधरी बजारमा प्राङ्गारिक तरकारी स्टल निर्माण योजनाको सम्झौता असार ११ गते भएको छ जब कि यो योजनाको उपभोक्ता समितिको गठन गत साल पुष १० गते नै भएको होे । ६ महिना सुतेको अवस्थामा रहेको समितिले आर्थिक वर्ष सकिन लाग्दा बल्ल निर्माण कार्य थाल्ने चेष्टा देखाएको छ । यो ४ लाख ३८ हजार ५ सय रुपैयाँकोे योजना हो ।

्त्यसै गरी १० लाखको लागत बजेट रहेको वडा नं. ५ को रतुवा तटबन्ध योजनाको उपभोक्ता समिति गत वैशाख ११ गते नै गठन भए पनि योजना सञ्चालनका लागि बल्ल असार ११ गते गाउँपालिकासँग सम्झौता गरेको देखिन्छ । ३ लाखको लागत रहेको वडा नं. २ को कोरोबारी खोप केन्द्र भवन निर्माणको सम्झौता पनि भर्खरै असार ९ गते भएको छ जब कि यो समितिको गठन जेठ ९ गते नै भएको थियो ।

१ लाख बजेटको वडा नं. ४ को होमपाईप व्यवस्थापनको सम्झौता पनि भरखरै असार ११ गते भएको देखिन्छ भने वडा नं ५ को छहारी चोकदेखि चिल्हारा हुँदै बहुभाषिक स्कुलसम्मको ग्राभेल बाटोको १ लाख बजेट रहेको सम्झौता पनि असार १० गते भएको हो यो उपभोक्ता समिति को गठन पनि यही हप्ता अर्थात् असार ७ गते नै भएको देखिन्छ । वडा नं. ५ कै रतुवा चोकदेखि रमभञ्जुको घर हुँदै रतुवा खोलासम्मको सडक ग्राभेल योजनाको सम्झौता असार ८ गते भएको देखिन्छ । २ लाखको बजेट रहेको यस योजनाको उपभोक्ता समितिको गठन जेठ ३ गते भएको थियो ।

बजेट नसकिएपछि केही वडाहरूले लक्षित वर्गका लागि छुट्याइएको रकमबाट जथाभावी साडी, झुल, सिरकलगायतका सामान वितरण गरिरहेका छन् । वडा नं ३ ले केही दिनअघि बिना सूचना डस्टबिन वितरण गरेको थियो भने अहिले बिना सूचना दलितका नाममा झुल वितरण गरि रहेको छ । यही वडाले केही समयअघि गर्मी मौसममा सिरक वितरण गरेको थियो । वडा नं ५ ले सोलार बाँड्ने योजना राखेको छ भने वडा नं ४ पनि दलित लक्षित सामग्री बाँड्ने योजनामा छ ।

योजना शाखाका प्रमुख नारायण चँदारा भन्छन् ‘ आर्थिक वर्ष सक्किन लाग्यो । यो योजना फरफाराक गर्ने सिजन हो तर दुर्भाग्य अहिले उपभोक्ता समितिहरू धमाधम नयाँ सम्झौता गर्न आइरहेका छन् ’ स्थानीय युवा महेन्द्र रिजालका अनुसार अहिले योजना सम्झौता गरेर २० दिनभित्र कुनै पनि हालतमा योजना सम्पन्न हँुदैन । भइहाले पनि त्यो हतारको काम एकदमै कमजोर हुन्छ ।
गौरीगञ्ज गाउँपालिकाले चालु आर्थिक वर्षको योजना फरफारक गर्न गाउँपालिकाको बजेटबाट सञ्चालित योजनाको हकमा असार २५ गते भित्र र अन्य बाह्य स्रोतबाट सञ्चालित योजनाहरूका हकमा असार २२ गते सम्म फरफारक गरी सक्नुपर्ने सूचना टाँस गरेको छ ।

गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ भन्छन् ‘कम्तिमा पनि असार मसान्तसम्म योजना फरफारक गरी सक्नुपर्छ । भर्खरै सम्झौता भएका योजनाहरू अब २० दिन भित्र फरफारक हुन कतिको सम्भव छ भन्ने जिज्ञासामा उनले भने ‘सम्भव हुने योजनाहरू सम्झौता गर्ने हो नहुने योजनाहरू सम्झौता गर्न मिल्दैन ।’ गाउँपालिका स्तरबाट सञ्चालन हुने योजनाहरू प्रमुख प्रशासकीय अधिकृत र वडागत सञ्चालन हुने योजनाहरू वडा सचिवले सम्झौता गर्नु पर्र्ने प्रावधान छ ।