भद्रपुर / झापामा उत्पादन हुदै आएका चियामध्ये भद्रपुर ५ मा रहेको रिलायन्स टी इन्ड्रस्टिज उद्योग उत्कृष्ठ भएको छ । राष्ट्रिय चिया तथा कफ विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडले आयोजना गरेको परिक्षणमा सो उद्योग उत्कृष्ठ भएको हो ।
बोर्डले वुधबार दिउँसो भद्रपुरमा झापा र इलाममा सञ्चालित २४ ओटा सिटीसी र तीन ओटा अर्थोडक्सक तयारी चिया परिक्षण गरेको थियो । बोर्डका प्राविधिक र भारतीय चिया बोर्डका विज्ञ बुद्धदेव आचार्यले परिक्षण गरेका थिए ।

परिक्षणमा सवैभन्दा बढी ५ दशमलव ५ प्रतिशत अङ्क रिलायान्सको उत्पादनमा देखिएकोले सो उद्योगलाइ उत्कृष्ठताको प्रमाण पत्र र ५ हजार नगद सहित सञ्चालक जेपी शर्मालाइ प्रदान गरिएको थियो । परिक्षण गरिएका उद्योगले तयारी चिया उत्पादन गर्दै आइरहेका छन् ।
बोर्डले वार्षिक रुपमा कम्तीमा एक चौमासिक परिक्षण गरेमा उत्पादनको अवस्थाको बारेमा जानकारी पाउन सजिलो हुने स्टार टी भद्रपुरका उद्योगी शिवकुमार गुप्ताले जनाए । बोर्डले बेलाबखत आएर परिक्षण गरेमा उत्पादनमा परिवर्तन गर्न सजिलो हुने उनको भनाइ थियो । वार्षिक कार्यक्रममा राखेर गरिएको परिक्षणको कुनै तुक नभएको उद्योगी यामबहादुर श्रेष्ठले बताए । प्रत्येक महिनामा तयारी चियाको परिक्षण हुनु पर्ने उनको माग छ । चियालाइ हेर्ने दृष्टिकोण नकरात्मक भएकोले सरकारलाइ चिया उत्पादन उद्योगको आवश्यक्ता नरहेको समेत उनले बताए । जस्तो सुकै आन्दोलन गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ ।