ताप्लेजुङ / ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नं १ सिनाममा वर्षा पछि झरेको पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध भएपछि सो गाउँपालिकाको याम्फुदिन, खेवाङ, पदाङ, सुरुम्खीम सहित साविकका १० गाविसका यात्रुलाई समस्या भएको छ । सिनाम र आम्वेगुदिन जोड्ने नेबुखोला नजिकै शनिबार सडक माथीबाट भरेको पहिरोले सडक बगाए पछि यात्रुलाई ओहोरदोहोरमा समस्या भएको हो ।
पहिरोले झण्डै २० मीटर सडक बगाएको स्थानीय भीम थेबेले जानकारी दिए । सडक बगाए पछि झापाबाट आम्बेगुदिन, तेल्लोकलगायतका ठाउँमा जाने सवारी साधन सिनाम सम्म मात्रै पुग्ने गरेकाछन् भने यहाँबाट बाहिरिने सवारी साधन समेत सिनामबाटै चल्ने गरेकाछन् ।
आम्बेगुदिनको हप्पुखोला, सिरिजंघा गाउँपालिकाको केन्द्र तेल्लोकमा सवारी साधन जान नसके पछि यात्रुलाई गाडी भेट्न घण्टौ सम्म हिड्नुपर्ने बाध्यता छ । तेल्लोकबाट सिनाम आईपुग्न झण्डै ३ घण्टा पैदल हिड्नु पर्छ भने हप्पुखोलाबाट डेढ घण्टा लाग्छ । साविकका याम्फुदिन, मामांखे, खेवाङ गाविसबाट गाडी चढ्न आउने यात्रुलाई भने झनै समस्या भएको छ । सँधै घरबाट हिँडेकैदिन गाडी चढ्न पाउने गरे पनि अहिले सिनाम सम्म आउनुपर्दा गाडी भेट्न मुस्किल हुने र एक दिन सिनाममा नै बास बसेर भोली पल्ट मात्रै गाडीमा छुट्ने गरेको स्थानीयले बताएकाछन् ।