धरान/ इटहरीका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई दिएको धम्की र त्यसपछि उत्पन्न परिस्थितिको बारेमा अध्ययन गर्न नेपाल पत्रकार महासङ्घ प्रदेश समितिले मिसन टोली बनाएको छ ।

महासङ्घका पूर्वकेन्द्रीय सदस्य मोहनकाजी न्यौपानेको संयोजकत्वमा गठित ४ सदस्यीय टोलीमा महासङ्घका पूर्व केन्द्रीय सदस्य गणेश लम्साल, सुनसरी शाखाका अध्यक्ष अमर खड्का र प्रदेश सदस्य जयकृष्ण यादव सदस्य रहेका छन् ।

मेयर चौधरीले पीत पत्रकारिता भनी घटनालाई विषयान्तर गरेको र सामाजिक सञ्जालमा त्यस्तै टिप्पणी आइरहेकाले सत्य–तथ्य अध्ययन गर्न मिसन टोली बनाइएको महासङ्घका महासचिवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बिहीबारै महासङ्घ सुनसरीले यही विषयमा अग्रज तथा पूर्व अध्यक्षहरूसँग सुझाव लिएको छ ।

उनीहरूले मेयर चौधरीले आत्मालोचना तथा पत्रकारहरूसँग माफी नमागुन्जेलसम्म आन्दोलनका कार्यक्रमहरू जारी राख्न महासङ्घलाई सुझाएका छन् । छलफलमा अग्रज पत्रकार हर्ष सुब्बा, कृष्ण अधिकारी, कृष्णविनोद लम्साल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का महासचिव चन्द्र न्यौपाने, प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्यहरू लीलाराज भट्टराई, राजन केडी, देवेन्द्र कार्की, प्रेस युनियनका सुनसरी अध्यक्ष धनबहादुर पुरी, पत्रकार महासङ्घका पूर्वअध्यक्ष राजेश विद्रोही, अर्जुन उपे्रतीलगायतको उपस्थिति रहेको थियो ।

सुझावलाई महासङ्घमा छलफल गरी आधिकारिक धारणा बनाई आन्दोलनका कार्यक्रम तय गर्ने महासङ्घका सुनसरी अध्यक्ष अमर खड्काले जानकारी दिए । उनले द्वन्द्वलाई चर्काउनेभन्दा पनि समस्यालाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा महासङ्घ गम्भीर भएको बताए । छलफलमा मेयर चौधरीले दिएको अभिव्यक्तिप्रति उनी संलग्न पार्टी नेकपाले पनि आफ्नो धारणा सार्वजनिक गर्दै इटहरीमा सिर्जना भएको असहज परिस्थितिलाई सुल्झाउन सुझाव दिइएको छ ।

सांसद्द्वारा कारबाहीको माग
बिहीबारको संसद् बैठकको शून्य समयमा बोल्दै सांसद्हरूले सञ्चारकर्मीमाथि दुव्र्यवहार गर्ने मेयर चौधरीलाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराए । सांसद्द्वय सुजाता परियार र हीरा गुरुङले मेयर चौधरीबाट सञ्चारकर्मीमाथि भएको दुव्र्यवहारप्रति सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरूले चौधरीलाई फौजदारी अपराध अन्तर्गत कारबाही गर्न माग गरेका हुन् । स्वतन्त्र पत्रकारिताको मूल्य मान्यताविपरीत र कानूनी राज्यको मान्यता पनि उल्लङ्घन हुने गरी मेयर चौधरीले धम्की दिएकोले फौजदारी कानूनअन्तर्गत कारबाही गर्न सांसद् परियारले माग गरिन् ।

काङ्ग्रेसकी सांसद् परियारले इटहरीका मेयरको हर्कत राम्रो नभएको भन्दै पत्रकारमाथि आक्रमणको धम्कीले हामीले प्राप्त गरेको लोकतन्त्रक खतरामा परेको बताइन् । सांसद् गुरुङले इटहरीका मेयरले दुई तिहाइको दम्भ देखाएको आरोप लगाइन् । उनले मेयरलाई फौजदारी अपराध अन्तर्गत कारबाहीको दायरामा ल्याउन माग गरिन् ।