जेनेभा/ भारतको पतन्जली आयुर्वेद लिमिटेडका व्यवस्थापन निर्देशक आचार्य बालकृष्णलाई स्वीजरल्याण्डको जेनेभामा ‘स्वास्थ्यसेवा सम्बन्धी युएनएसडीजी १० सर्वाधिक प्रभावशाली पुरस्कार’ प्रदान गरिएको छ । आचार्य बालकृष्णले पतन्जली समूहका तर्फबाट उक्त पुरस्कार प्राप्त गरेका हुन् ।
पुरस्कार प्राप्त गरेपछि ट्वीट गर्दै आचार्य बालकृष्णले योग र आयुर्वेदलाई विश्वस्तरमा मूलप्रवाही गर्न योगदान गर्नेहरूप्रति आफूले पुरस्कार समर्पित गर्न चाहेको उल्लेख गरे । जेनेभामा संयुक्त राष्ट्रसङ्घीय दीगो विकास लक्ष्य (युएनएसडीजी) सम्बन्धी कार्यक्रमका पाँच प्रमुख वक्ताहरूमा ¥याण्डी उस्ट्रा, युनिसेफका कार्यकारी निर्देशक हेनरिटा एच फोर, विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयेसुस, आबे ली र आचार्य बालकृष्ण छन् ।
योगगुरु रामदेवले उक्त सम्मानबाट पतन्जलीको अभियान निकै महत्वपूर्ण रहेको छ भन्ने देखिएको बताए । भारतको हरिद्वारमा आयोजित एक कार्यक्रममा रामदेवले भने, ‘आचार्य बालकृष्णलाई भारतको प्रतिनिधित्व गर्न आमन्त्रण गरिएको थियो ।’
विश्व स्वास्थको पछिल्लो परिदृश्यमा जीवनशैलीसँग जोडिएका रोगहरूलाई कसरी योग, आयुर्वेद र परम्परागत भारतीय विधिका माध्यमबाट उपचार गर्न सकिन्छ भन्नेमा पतन्जलीले महत्वपूर्ण योगदान गरेको छ । पतन्जलीले आयुर्वेद औषधि र व्यक्तिगत स्वास्थ्यसँग सम्बन्धित औषधिहरू उत्पादन गरिरहेको छ । रामदेवले बालकृष्णसँग मिलेर पतन्जली आयुर्वेद कम्पनी खोलेका थिए ।