विराटनगर /  मोरङ जहदा गाउँपालिका – ४ का २४ वर्षीय लक्ष्मण राजबंशीको उमेर पुरा भएकोले विवाह गर्ने निधो गरे । आफ्ना आफन्त र घर परिवारका सदस्यलाई लिएर सोही गाउँपालिकामा रहेको २१ वर्षीय कन्याको घरमा पुगे । केटा र केटी पक्ष बिच गफगाफ भयो । केटी र केटीको मन परापर भयो र ४ जेठमा परम्परागत रितिरिवाज अनुसार बिवाह गर्ने साइत जुरो । दुवै घर परिवार विहेको तयारीमा जुटे ।
विवाहको सम्पूर्ण तयारी पुरा गरेर केटा पक्ष जन्ती लिएर जेठ ४ गते दिउँसो बेहुली लिन दुलहीको घरमा पुगे । बेहुली पक्षले आफ्नो रितीरिवाज अनुसार विधी पुरा गरि बेहुला र जन्तीलाई स्वागत गरे । बेहुला मण्डपमा बसे । चारै तिर आँखा घुमाए । बेहुली पक्षसँग उनले अपेक्षा गरे अनुसारकोे तिलक (दाइजो) देखेनन् । बेहुला रिसले रनथनिए । तिलक नदिएको झोकमा । जन्ती लिएर बेहुला राजवंशी मण्डलबाट घरतिर हिडे । त्यो विवाह त्यही रोकियो ।
दाईजो नदिएको भनि विवाह रद्ध गर्ने बेहुला लक्ष्मण राजवंशीलाई प्रहरीले बुधबार पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपी घनश्याम श्रेष्ठले बताए । ‘बेहुलाले बेहुली पक्षलाई मोटरसाइकल, सुनको सिक्री र डायनिङ टेलव माग गरेको प्रारम्भिक अनुसन्धाबाट खुलेको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले भने, ‘केटी पक्षले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको हो ।’ पक्राउ परेका राजवंशीलाई बिहीबार जिल्ला अदालत मोरङमा मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाह सम्बन्धी कसूर मुद्दामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको डिएसपी श्रेष्ठले बताए । उनका अनुसार दुवै पक्षको परिवारबीच कुराकानी मिली राजीखुशीका साथ गत जेठ ३ गते विवाह गर्ने तय भए अनुसार सम्पूर्ण तयारी पूरा भएको थियो । विवाहको कार्यक्रमको दौरान लक्ष्मणले थप दाईजो दिनुपर्ने भन्दै अडी कसेका थिए । आर्थिक अवस्था न्यून भएकोले माग भए बमोजिमको सामग्री दिन नसक्ने कुरा बताए पछि बेहुला पक्ष बेहुलीलाई मण्डपमै छाडी गएको प्रहरीले जनाएको छ ।
कुटुम्बको अचम्मको माग देखिपछि बेहुली पक्ष पनि तनाबमा परेका थिए । विवाह अगाडी पनि बेहुलीले आर्थिक अवस्था नाजुक भएकोले तिकल दिन नसक्ने बताएका थिए । तर विवाहको दिन लाजमर्दो पारेको दुलही पक्षको भनाई छ ।